Logo

‘असहायको सेवा नै सच्चा मानव सेवा’



झापा, २८ असोज । ‘चाडपर्वमा कोही नरहुन् सडकमा’ भन्ने नाराका साथ मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरुआत गरेको छ ।

गायिका आनी छोइङ डोल्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले मेची पुलमा दीप प्रज्वलन गरी शनिबार यात्राको शुभारम्भ गरे । आनी छोइङ डोल्मा फाउन्डेशन र मानव सेवा आश्रमको सहकार्यमा सञ्चालित यो यात्रा क्रममा कोशी प्रदेशभरका सहयोगापेक्षी सडक मानवको उद्धार गरी विराटनगरस्थित आश्रममा राखिने भएको छ ।

फाउन्डेशनकी अध्यक्ष डोल्माले असहायको सेवा नै सच्चा मानव सेवा भएको जनाउँदै अभियानमा जोडिन पाउनु जीवनकै सबैभन्दा राम्रो कर्म भएको बताए ।

मेचीनगरका नगरप्रमुख बुढाथोकीले कोही पनि नागरिकले सडकमा कष्टपूर्वक जीवन बिताउनु नपरोस् भनेर मानव सेवा आश्रमले विगतदेखि गरिरहेको प्रयासको सराहना गर्दै यस कार्यमा नगरपालिका सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे ।

मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले मुलुकका ४६ जिल्लामा उद्धार यात्रा सञ्चालन हुने जानकारी दिए । “कसैले पनि सहयोगापेक्षी भएर चाडबाडका बेला सडकमा बस्नु नपरोस् भन्ने हाम्रो अभियानको उद्देश्य हो”, उनले भने, “अभियानलाई सफल बनाउन सबैबाट सहयोग मिल्ने अपेक्षा गरेका छौँ ।”

झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले सडक मानवको उद्धार अभियानमा नेपाल प्रहरीले आवश्यक सुरक्षा र सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ भने विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले सडकमा अलपत्र जीवन बिताइरहेका मानवको उद्धारमा सबै पक्षको सहयोग र चासो हुनुपर्ने बताए।

मानव सेवा आश्रमका अध्यक्ष अधिकारीका अनुसार आज झापास्थित पूर्वपश्चिम राजमार्ग र वरपरका सडकमा अलपत्र अवस्थामा रहेका सहयोगापेक्षी मानवको उद्धार गरिने छ । यस कार्यका लागि आश्रम र आनी छोइङ डोल्मा प्रतिष्ठानमा आबद्ध स्वयंसेवक परिचालन हुनेछ ।

प्रहरी टोली, एम्बुलेन्स र स्यवंसेवकको प्रयोग गरेर सडक मानवको उद्धार गरिने र बसोबासका लागि विराटनगर लगिने उनले जानकारी दिए । विगतमा पनि मानव सेवा आश्रमले सडक मानवको उद्धार अभियान सञ्चालन गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot