Logo

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन



गोरखा, १ कात्तिक । बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएकोे छ । बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिराले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिए ।

जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा रहेको बारपाक र लाप्राक सडकखण्ड लामो समयसम्म अवरुद्ध भएपछि चौतर्फी आलोचना हुँदै आएको थियो । सातआठ दिनसम्म लगातार ठूला जेसिवीको सहायताले पहिरो हटाएपछि अवरुद्ध सडक सञ्चालनमा आएको उनले बताए । सडक अवरुद्ध हुँदा लाप्राकमा दैनिक उपभोग्य सामग्री पु¥याउन समेत कठिनाइ हुँदै आएको थियो ।

लाप्राक र आसपासका बस्तीमा सडक अवरुद्ध हुँदा चाडबाडका बेलामा पनि भारी बोकेर खाद्यसामग्री लैजानुपर्ने बाध्यता रहेको थियो । हरेक वर्ष बर्खा लागेसँगै उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको छ । बारपाक–लाप्राक सडकखण्ड २०७७ साल जेठ ९ गते ठेक्का सम्झौता गरी सडक स्तरोन्नतिको काम सुरु गरिरहेको भए पनि ठेकेदारले समयमा काम सम्पन्न नगर्दा त्यस क्षेत्रका बासिन्दाले हैरानी खेप्दै आउनु परेको छ ।

ठेक्का सम्झौता भएको झण्डै ४१ महिना भइसक्दा समेत स्तरोन्नतिको काम सम्पन्न हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ साल जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा÷विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सडकको भौतिक प्रगति अहिलेसम्म ५२ प्रतिशतमात्र रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।

कार्यालयले १३.१४ किलोमिटर सडक ३४ करोड १५ लाख ७१ हजार एक सय ९८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भएपछि कार्यालयले गएको जेठ २२ गतेभित्रका काम सम्पन्न गर्ने म्याद थप गरेको थियो । थपिएको म्याद सकिएको चार महिना भइसक्दा पनि सडक स्तरोन्नतिको काम भने अझै अलपत्र रहेको छ । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot