Logo

वन समूहको सहयोगमा गाउँमा बिजुली



कटारी (उदयपुर), १९ कात्तिक । उज्यालोको पर्व तिहार नजिकिएसँगै उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरका मोहनसिंह तामाङको घरमा झिलिमिली बत्ती बलेको छ ।

नेपाल विद्युत् प्राधिकरणको कटारी शाखाबाट विद्युत्को मुख्य प्रशारण लाईनबाट तामाङको घरमा बिजुली जडान भएको हो । तामाङको घरमा बिजुली बाल्नका लागि तामाङनै उपभोक्ता सदस्य भएको सरस्वती सामुदायिक वन उपभोक्ता समूह कटारीले व्यवस्था मिलाएको हो ।

“समूहले तार र मिटरबक्स जडान गरिदिएको हो”, तामाङले भने,“समूहको सहयोग पाएपछि घरमा बिजुली बल्यो ।” उनीलगायत गाउँको एक सय घरमा समूहको सहयोगमा बिजुली बलेको छ । समूहको सहयोगले बत्ती बाल्न पाउँदा राहत मिलेको अर्का स्थानीयवासी रामलाल तामाङले बताए।

गाउँमा बत्ती बाल्न समूहले प्रशारण लाइनसम्म जोड्ने तार र मिटरबक्स खरिद गरी सहयोग गरेको समूहका सचिव कर्णबहादुर तामाङले बताए । “समूहले भेलाबाट निर्णय गराएर गाउँमा बिजुली बाल्दै आएका छौँ”, उनले भने ।

समूहका अध्यक्ष खड्गबहादुर तामाङका अनुसार हालसम्म गाउँमा बिजुली बाल्न समूहले आठ लाखभन्दा बढी खर्च गरिसकेको छ । गाउँमा सबै उपभाक्ताको घर उज्यालो पार्न समूहले बिजुली जडानको काम गरिरहेको छ । आमभेलाको निर्णयसँगै डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)को सिफारिसमा समूहले गाउँमा बिजुली बाल्ने कार्यक्रममा सहयोग गर्दै आएको अध्यक्ष तामाङले बताए ।

कटारी नगरपालिकाको उत्तरपूर्वी वडाको पहाडी भेगमा रहेको उक्त गाउँमा बिजुली नपुग्दा स्थानीयवासीले सोलार र टुकी बाल्दै आएका थिए । बिजुली पुगेसँगै वन समूहले बत्ती बाल्नका लागि कार्यक्रम निर्माण गरी सहयोग गरेको हो । गाउँमा बिजुली जडान भएपछि तिहारसँगै घरघरमा झिलिमिली बत्ती बालिएपछि अहिले गाउँ नै ।उज्यालो भएको स्थानीय सोमबहादुर तामाङले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot