Logo

आरती साहको न्यायको लागि आजपाका अध्यक्ष प्रभु साह कार्तिक २२ गतेदेखि सडकमा उत्रिने



काठमाडौं, २० कार्तिक । धनुषाकी आरती साहको न्यायको लागि आम जनता पार्टी (आजपा) का अध्यक्ष, पूर्वमन्त्री तथा सांसद प्रभु साह सडकमा उत्रिने भएका छन् । साह नेतृत्वको आजपाले यही कार्तिक २२ गते दिउँसो १ बजे आरती साहका परिवार धर्नामा रहेको स्थल माईतीघरमा पुगेर शान्तिपूर्ण धर्नामा ऐक्यबद्धता जनाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

सो दलका प्रवक्ता चन्द्रभुषण साह (सिबी) ले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै यही कार्तिक २२ गते माइतीघरमा धर्ना दिईने जनाएका हुन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘धनुषाकी आरती साहको हत्या प्रकरणमा विगत १४४ दिनदेखि अनवरत न्यायको पर्खाइमा देशको संघीय राजधानीको मुटु माईतीघरमा संघर्षरत पीडित परिवारको आन्दोलनप्रति हाम्रो प्रारम्भिक समयदेखि सडकदेखि सदनसम्म नैतिक एवम् भौतिक साथ, सहयोग र ऐक्यबद्धता रहँदै आएको विषय जगजाहेर नै छ । यही सन्दर्भमा कार्तिक २२ गते दिनको १ बजे हाम्रो गौरवशाली पार्टीका आदरणीय अध्यक्ष तथा पूर्वमन्त्री माननीय प्रभु साहज्यूको सहभागिता एवम् नेतृत्वमा पीडित परिवारको धर्ना कार्यक्रममा ऐक्यबद्धता कार्यक्रम र कार्तिक २३ गते विहान ११ बजे मानवअधिकार आयोगको कार्यालयमा गम्भीर ध्यानाकार्षणसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय गरिएको हुँदा सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ।’

आजपाका केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव बालकृष्ण सापकोटाले आरती साहको परिवार न्यायको लागि यत्तिका दिनसम्म शान्तिपूर्ण धर्नामा बस्दापनि सरकारले कुनै सुनुवाई नगरेपछि आफूहरु पीडित परिवारलाई न्याय दिलाउनको लागि सशक्त रुपमा उत्रिन लागेको जानकारी दिए ।

उनले भने,‘धनुषामा पीडितले न्याय पाउन नसकेपछि देशको संघीय राजधानी काठमाडौंमा त न्याय पाईन्छ भनेर उहाँहरु आउनुभएको थियो, तर आज यत्तिका दिन बित्दापनि उहाँहरुले न्याय पाउनुभएन । यो दुःखदायी अवस्था हो । देशमा कानूनी राज छैन, न्याय मरेको भन्ने आभाष हुन थालेको छ, त्यसैले हामीले पीडित परिवारलाई न्याय दिलाउनको लागि अध्यक्षज्यूको निर्देशनमा पार्टी पँक्तिलाई सशक्त बनाएका छौं । हामी उहाँहरुलाई न्याय दिलाउको लागि सशक्त रुपमा आफ्नो भूमिका निर्वाह गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot