Logo

संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकले लडेर ल्याएको व्यवस्था हो, कसैले खोस्न सक्दैनः महेश बर्तौला



काठमाडौं, २१ कात्तिक । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले संघीय लोकतान्त्रिक गणतन्त्र दाईजोमा आएको नभएर नागरिकले लडेर ल्याएको व्यवस्था भएको बताएका छन् । उनले यो व्यवस्था कसैले खास्न नसक्ने बताए । आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा आह्वान भइको १२ बुँदे सम्झौताका पक्षधर दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै बर्तौलाले सरकार भएको अनुभूति हुन नसक्दा जनतामा वितृष्ण बढेपति यो व्यवस्था कसैले खोस्न नसक्ने बताए । जनतामा बढेको वितृष्णाप्रति सरकार गम्भीर हुन जरुरी रहेको उनको भनाई छ ।

‘यो नागरिकले लडेर ल्याएको व्यवस्था हो । कहीँबाट दाईजो आएको विषय होईन । लडेर ल्याएको यो व्यवस्था कसैले खोस्न सक्दैन । तर, सरकारका कारण नागरिकमा जसरी वितृष्णा बढेको छ, यो कुरा अन्त्य गर्न जरुरी छ,’– उनले भने ।

वर्तमान सरकारले अहिलेको परिस्थितिलाई अप्ठ्यारो महशुस गरिरहेको आफूहरुले पाएको उनको भनाई छ । सरकारले डेलिभरी दिन नसकेको उनको आरोप छ । उनले सरकारमा नालायकीपन देखिएको टिप्पणी गरे । सरकारलाई को सँग डर हो भन्ने कुरा आफूहरुले पनि थाहा नपाएको उनले बताए ।

आफूहरु सरकारले बोलाएपछि आएको बताउँदै उनले भने, ‘हामी सरकारले बोलाएर आयौं । हामीले हाम्रा कुरा राख्यौं । सरकार गलत ढंगबाट अगाडि बढिरहेको छ । त्रास कोसँग हो ? सरकारले केही बताएन । हामीले भन्यौं– सरकारले डेलिभरी दिन नसक्दा नागरिकमा गुनासो छ । सरकार भएको कही अनुभूति छैन । त्यस कारण जनतामा निराशा आयो, व्यवस्थाप्रति आक्रोश बढ्न थाल्यो ।’



प्रतिक्रिया दिनुहोस्