Logo

परम्परा जोगाउन रोटेपिङ



टक्सार (भोजपुर), २६ कात्तिक । भोजपुर नगरपालिका–१ हेलौछाको डाँडाबोखिमका गाउँलेले परम्परा जोगाउन रोटेपिङ राखेका छन् । वडाध्यक्ष जीरामणि राईको पहलमा तिहारको अवसर पारेर गाउँमा रोटेपिङ लगाइएको हो ।

“अहिलेका युवापुस्ता सामाजिक सञ्चालमा नै व्यस्त हुनेहुँदा परम्परागतरुपमा चल्दै आएको संस्कार र संस्कृतिसमेत लोप हुने अवस्थामा पुगेका छन्”, वडाध्यक्ष राईले भने, “त्यसको संरक्षण र सम्वद्र्धनका लागि वडावासीको सहयोगमा गाउँमा पिङ हालिएको हो ।” उनका अनुसार दसैँ तिहारजस्ता पर्वमा पनि अहिलेको आधुनिकताका कारण रौनक हुन थालेकाले पुरानो संस्कार र संस्कृति संरक्षणमा वडाले भूमिका निर्वाह गर्दै आएको हो ।

गाउँघरमा बाँसबाट बनाइने लिङ्गेपिङसमेत विस्थापित हँुदै गइरहेको अवस्थामा मेहनतका साथ काठ खोजेर रोटेपिङ लगाइएको स्थानीय धनप्रसाद राईको भनाइ छ । धनप्रसादको सक्रियतामा तीन दिन लगाएर वडामा रोटेपिङ हालिएको हो ।

“संस्कृतिको जर्गेना र संरक्षणका लागि पिङ हालिएकाले यसले सामाजिककाममा समेत सद्भाव बढाएको छ”, धनप्रसादले भने । विगतमा ग्रामीण क्षेत्रमा लोकप्रिय काठबाट बनेका रोटेपिङ अचेल देखिन छोडेका उनको भनाइ थियो ।

बढ्दो प्रविधिको विकास तथा अन्य सुखका कारण युवा सहर बस्न रुचाउने र गाउँ शुन्य हुने खतरा बढेसँगै गाउँको पुरानो संस्कृति र जोगाउन समस्या हुँदै आएको वडाध्यक्ष राईको धारणा छ ।

चार वडाको संलग्नतामा गाउँमा निर्माण गरिएको पिङमा सखुवाको काठ प्रयोग गरिएकाले निकै मजबुत छ । यो काठ आठदेखि १० वर्ष टिक्ने भएकाले चाडपर्वपछि यसलाई सुरक्षित राखेर आगामी वर्षमा पनि प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot