Logo

माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार गर्ने ३ जना पक्राउ



काठमाडौं,१ मंसिर । गत कार्तिक २२ गते काठमाडौंको बानेश्वरमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ परेका छन् ।

शुक्रबार प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो ।

यसरी पक्राउपर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेचीनगर नगरपालिका वडा नम्बर ८ मेचेका ३४ वर्षीय कैलास भन्ने टेकबहादुर प्रधान र कोहलपुर नगरपालिका वडा नम्बर १ कौशीला बस्ने २६ वर्षीय आशिष लामिछाने मगर रहेका छन् ।

कात्तिक २२ गते काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरस्थित आईप्‍लेक्स मलनजिकै बर्तौलामाथि दुई जना व्यक्तिहरूले खुकुरी प्रहार गरी फरार भएका थिए। उनीहरूको तत्काल परिचय खुलेको थिएन।

अनुसन्धानको क्रममा प्रहरीले उनीहरूको पहिचान, पीडितबाट सूचना संकलन र विभिन्न विधि र पद्धतीको प्रयोग गरेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जना यसअघि पनि चोरी, डाँका, हातहतियार र ज्यानसम्बन्धी उद्योग जस्ता मुद्दामा सजाय काटेका व्यक्ति हुन् ।

प्रहरीका अनुसार जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot