दिलिप घिमिरेले कमाण्ड सम्हालेपछि काठमाडौँको सुरक्षा व्यवस्था चुस्त


काठमाडौँ । देशको प्रशासनिक तथा व्यापारिक केन्द्रका रूपमा रहेको सङ्घीय राजधानी काठमाडौँको शान्ति सुरक्षा कायम गर्नु सुरक्षा निकायका लागि सधैँ चुनौतीपूर्ण रहँदै आएको छ । तर, जिल्ला प्रहरी परिसर काठमाडौँको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले सम्हालेयता राजधानीको सुरक्षा परिदृश्यमा गुणात्मक सुधार देखिएको छ । प्रहरीको सक्रियता र निगरानी बढेसँगै सहरमा आपराधिक घटनाहरूको ग्राफ ओरालो लागेको प्रहरी अभिलेखले देखाउँछ ।

नेपालीहरूको मुख्य चाड बडादशैँको समयमा उपत्यका सुनसान हुने र चोरी-डकैतीका घटना बढ्ने विगतको प्रवृत्तिलाई यसपटक काठमाडौँ प्रहरीले प्रभावकारी रूपमा नियन्त्रणमा लियो । दशैँ अवधिभर संवेदनशील क्षेत्रहरूमा २४सै घण्टा गस्ती, सादा पोसाकमा गुप्तचर परिचालन तथा प्रविधिमैत्री निगरानीका कारण राजधानीमा कुनै ठूला अप्रिय घटना हुन पाएनन् ।

दशैँको सफल सुरक्षा व्यवस्थापनलगत्तै काठमाडौँ प्रहरीले तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षितगरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । तिहारमा विशेषगरी रात्रिकालीन चहलपहल बढ्ने, जुवातास खेल्ने–खेलाउने तथा पटकाजन्य विस्फोटक पदार्थको अवैध कारोबार हुने जोखिम रहन्छ । यस्ता अवाञ्छित गतिविधि रोक्न तथा मुख्य व्यापारिक केन्द्रहरूमा हुने भीडभाड व्यवस्थापन गर्न अतिरिक्त सुरक्षा फौज परिचालन गरिएको परिसर प्रमुख घिमिरे बताउँछन् ।

“नागरिकले निर्धक्क भएर चाडपर्व मनाउन पाउनु नै हाम्रो सफलता हो,” घिमिरेले भने, “दशैँमा अपनाइएको सुरक्षा सतर्कतालाई तिहारमा अझ परिष्कृत र कडा बनाएका छौँ । कुनै पनि बहानामा शान्ति सुरक्षा खल्बल्याउन खोज्नेलाई कानुनी दायरामा ल्याउन प्रहरी सधैँ तम्तयार छ ।”

घिमिरेले काठमाडौँको नेतृत्व सम्हालेपछि सङ्गठित गुण्डागर्दी, लागूऔषधको अवैध कारोबार, साइबर अपराध र सडकमा हुने पकेटमारीजस्ता घटनामा कमी आएको छ । मुख्य चोकहरूमा आकस्मिक चेकजाँच, क्विक रेस्पोन्स टिम (क्युआरटी) को तीव्र परिचालन र समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई तल्लो तहसम्म विस्तार गरिएकाले अपराध न्यूनीकरणमा मद्दत पुगेको प्रहरीको विश्लेषण छ । यसले आम नागरिकमा सुरक्षाको भरपर्दो प्रत्याभूति दिलाएको छ ।