काठमाडौँ । विश्व राजनीतिमा ध्रुवीकरण र भू-राजनीतिक टकराव बढिरहेका बेला नेपालले अन्तर्राष्ट्रिय मञ्चबाट शान्ति, संवाद र जलवायु न्यायको पक्षमा आफ्नो स्पष्ट आवाज मुखरित गरेको छ । दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै नेकपा (एमाले) का सचिव शेरधन राईले बदलिँदो विश्व परिस्थितिमा द्वन्द्वको सट्टा सहकार्यको बाटो रोज्न विश्व समुदायलाई अपिल गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधिका रूपमा महासभामा सहभागी कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले राजनीतिक विचारधारा र पृष्ठभूमि फरक भए पनि विश्वका सबै राष्ट्रको अन्तिम गन्तव्य शान्ति, समृद्धि र नागरिकको उज्ज्वल भविष्य नै हुनुपर्ने धारणा राखे । नेपालको परराष्ट्र नीतिको आधारभूत मान्यता ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’लाई स्मरण गराउँदै उनले साना–ठूला सबै राष्ट्रको सार्वभौमिकता र स्वतन्त्रताको सम्मानबाट मात्रै दिगो शान्ति सम्भव हुने औँल्याए ।
सोलको मञ्चलाई राईले नेपालको आर्थिक कूटनीति र श्रम सुरक्षाका मुद्दा उठाउने अवसरका रूपमा समेत उपयोग गरे । नेपालको जलविद्युत् तथा स्वच्छ ऊर्जाको अपार सम्भावनालाई यथार्थमा बदल्न अन्तर्राष्ट्रिय लगानी र प्रविधि भित्र्याउनुपर्नेमा उनको जोड थियो । साथै, वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकहरूको अधिकार, सुरक्षा र मर्यादा सुनिश्चित गर्न उनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।
सम्बोधनका क्रममा राईले जलवायु परिवर्तनले निम्त्याएको असमान सङ्कटको विषयलाई प्रमुखताका साथ उठाए । विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका रहेको नेपालजस्तो हिमाली मुलुकले जलवायु परिवर्तनको सबैभन्दा चर्को मार र क्षति व्यहोर्नुपरेको यथार्थ चित्रण गर्दै उनले यसलाई ‘अन्यायपूर्ण अवस्था’को संज्ञा दिए । प्रभावित राष्ट्रहरूलाई औपचारिक सहानुभूति मात्र पर्याप्त नहुने भन्दै उनले व्यावहारिक सहयोग, प्रविधि हस्तान्तरण, लगानी र ठोस अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याए ।
भावी पुस्ताका लागि सुरक्षित र बसोबासयोग्य पृथ्वी हस्तान्तरण गर्नु आजको पुस्ताको साझा दायित्व भएको उल्लेख गर्दै राईले विश्व मानवताको साझा भावनामा जोड दिए । ‘इतिहासले आजको मानव समुदायलाई विभाजन र द्वन्द्वका कारण होइन, बरु विश्वास निर्माण, शान्तिको संरक्षण र साझा भविष्यको खाका कोरेकोमा सम्झनुपर्छ,’ उनको निष्कर्ष थियो ।






प्रतिक्रिया