विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार


काठमाडौं,५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेपछि फैसला पुनरावलोकनका लागि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

अख्तियारबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा अदालतले गरेको फैसलाविरुद्ध आयोगले मंगलवार पुनरावेदन मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालका अनुसार गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका राजेन्द्र ढुंगाना र मधु कोईराला (ढुंगाना) लाई विशेष अदालतले दाबी नपुग्ने फैसला गरेको थियो ।

आयोगका अनुसार प्रतिवादी ढुंगानाले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४९ साउन १९ देखि २०७६ असोज ३० गतेसम्मको अवधिमा आयआर्जन गरेको रकमबाट विभिन्न खर्चहरू घटाउदा ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत खुलेको थिएन ।

साथै उनले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मधु कोईराला (ढुंगाना) को नाममा राखेको राखेका आयोगको दाबी छ । आयोगले उनीहरू दुवैजनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आयोगले उनीहरूविरुद्ध ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको बिगो कायम गरी सम्पत्ति जफतसहित सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Skip This

Omoda E5 Pro