Logo

दुई अर्बभन्दा बढि ठगी गरेका मेयर नेपालीको ४४ ठाउँमा घरजग्गा (विवरणसहित)



काठमाडौं, ६ मंसिर । इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली गत जेठ महिनादेखि फरार छन् । उनीविरुद्ध बचतकर्ताको ठूलो रकम हिनामिना गरेको आरोप छ । उनीसहित सहकारीका ११ पदाधिकारीले दुई अर्ब दुई करोडभन्दा बढि रकम हिनामिना गरेको आरोप छ ।

सहकारीमा बचतकर्ताको रकम ठगी गरेको उक्त मुद्दा अहिले बाग्लुङ जिल्ला अदालतमा विचाराधीन छ । उनसहित सहकारीका सञ्चालकहरुविरुद्ध अर्ब ३८ करोड बिगोदाबीसहित मुद्दा दायर भएको थियो । बाग्लुङ जिल्ला अदालतले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । प्रहरीले मेयर नेपालीसहित उक्त सहकारीको रकम हिनामिना गरेका सात जना आरोपीहरुको खोजी तीब्र पारेको छ ।

प्रहरीले आफ्नो खोजी तीब्र पारेपछि मेयर नेपालीले छ महिनापछि सामाजिक सञ्जालमार्फत बचतकर्ताहरुको वचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् । सबै वचतकर्ताहरुको बचत रकम आफू र आफ्नो श्रीमतीको नाममा भएको सम्पत्ति बेचेर तिर्ने प्रतिवद्धता जनाउँदै उनले त्यसका लागि वातावरण बनाइदिन समेत सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । उनले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्तिसमेत सार्वजनिक गरेका छन् ।

फरार रहेका मेयर नेपालीले सार्वजनिक गरेको सम्पत्ति अनुसार उनको र उनको श्रीमतीको नाममा देशका विभिन्न स्थानमा ४४ ठाउँमा घरजग्गा रहेको छ । उनको बागलुङ, पोखरा र काठमाडौंमा गरी १८ वटा घर रहेको छ । सोही जिल्लाको अन्य २६ ठाउँमा जग्गा रहेको छ ।

उनले सार्वजनिक गरेको विवरणअनुसार उनी र उनको श्रीमतीको नाममा बागलुङको ढोरपाटन नगरपालिकाभित्रै २९ स्थानमा घरजग्गा छ । त्यसैगरी सोही जिल्लाको बागलुङ नगरपालिकामा चार ठाउँमा र कास्कीको पोखरा महानगरपालिकामा ६ ठाउँमा र काठमाडौंभित्र विभिन्न स्थानमा छ ठाउँमा घरजग्गा रहेको उनले विवरण सार्वजनिक गरेका छन् ।

मेयर नेपालीविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमा ५२५ जना र बागलुङमा १ हजार ५ सय ४३ जना बचतकर्ताले उजुरी दिएका थिए । उनी नेकपा (एमाले) बाट निर्वाचित मेयर हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot