काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बिहीबार साँझदेखि सुरु भएको वर्षा शुक्रबार पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना छ।
दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ भने सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहने अनुमान गरिएको छ।
कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने थोरै स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मौसममा आएको परिवर्तनको मुख्य कारण बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। यद्यपि, आज अपराह्नदेखि यी प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।




प्रतिक्रिया