क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम संसदीय समितिबाट अनुमोदन


काठमाडौं,१० मंसिर । संसदीय सुनुवाइ विशेष समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ ।

आज बसेको समिितको बैठकले परराष्ट्र सचिवसमेत रहेका पौड्यालको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको हो । आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम अनुमोदन गरेको हो ।

अब उनलाई राष्ट्रपति रामचन्द्र पौडलले नियुक्त गर्नेछन् । पौड्यालले क्यूबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैर आवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रुपमा काम गर्नुपर्नेछ ।

समितिको बैठकमा सांसदहरूले पौड्यालविरुद्धका आरोप र उजुरीहरूबारे प्रश्न सोधेका थिए। उनले आफूले पदीय दुरुपयोग नगरेको र बदनियत राखेर कुनै काम नगरेको भनी सफाइ पेस गरेका थिए। 

उनले राजदूतका रूपमा देशको हितमा काम गर्ने र राष्ट्रको सम्मान बढाउने काममा लागिपर्ने प्रतिबद्धता पनि संसदीय समितिसमक्ष व्यक्त गरेका थिए।

पौड्याल परराष्ट्र मन्त्रालयका बहालवाला सचिव पनि हुन्। उनी तीन वर्षअघि सचिवमा बढुवा भएका हुन्। उनले मन्त्रालयकै संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा प्रमुख, मन्त्रालयको प्रवक्ता र पाकिस्तानका लागि नेपाली राजदूत भएर पनि काम गरेका छन्।

Skip This

Omoda E5 Pro