Logo

धरौटी र साधारण तारेखमा रिहा हुने अभियुक्तलाई सम्पत्ति शुद्धीकरण विभाग लगिँदै



काठमाडौं,१८ मंसिर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइ ठगी गरेको आरोपमा पक्राउ परेर थुनामा तर, शुक्रबार उच्च अदालत पाटनको आदेशअनुसार रिहा हुन धरौटी रकम बुझाएका तीनसहित चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ।

धरौटी रकम बुझाएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र हरिभक्त महर्जन तथा साधारण तारेखमा रिहा हुने आषिश बुढाथोकीलाई सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने भएको हो।

उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा भएकाले त्यहाँ बुझाउन लागिएको हो। सरकारी कर्मचारीलाई भने त्यसपछि अख्तियारमा पनि बुझाइने छ।

उच्च अदालतका न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासको आदेशबमोजिम नरेन्द्र केसी र शमशेर मियाँले १०र१० लाख र हरिभक्त महर्जनले १५ लाख रुपैयाँ धरौटी आइतबारै बुझाइसकेका छन।

उच्च अदालत पाटनले शुक्रबार नक्कली शरणार्थी प्रकरणका ६ अभियुक्तलाई धरौटीमा तथा ४ जनालाई साधारण तारेखमा रिहा गर्न र ९ जनालाई थुनामै राख्न आदेश दिएको हो।

लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेख तथा टेकनाथ रिजाल, नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ, सन्दीप रायमाझी र रामशरण केसीलाई धरौटीमा छाड्न आदेश भएको हो। पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वसभासद् आङटावा शेर्पा तथा बिचौलियाहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भनिने गोविन्दकुमार चौधरी र सन्देश शर्मालाई भने उच्च अदालतले जिल्लाकै निर्णय सदर गर्दै थुनामै राख्न आदेश दिएको हो।

तर पूर्व-गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणका विषयमा भने दुई न्यायाधीशबीच मत बाझिएपछि निर्णय हुन सकेको छैन। उनलाई धरौटी वा साधारण तारेखमा रिहा गर्ने वा थुनामै राख्ने भन्ने निर्णय गर्न अब तेस्रो न्यायाधीशसमक्ष पेस गरिने भएको छ।

पूर्व-उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र रामशरण केसी पनि धरौटी बुझाउने प्रक्रिया आइतबार नटुंगिएकाले आज रिहा हुँदै छन्। तर शरणार्थी नेता टेकनाथ रिजालको भने धरौटी बुझाउने प्रक्रिया अगाडि बढाइएको छैन। उनलाई उच्च अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। तर त्यत्रो रकम बुझाउन सक्ने अवस्था आफ्नो नभएको रिजालले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot