Logo

मेलम्ची खानेपानी तत्काल वितरण नभए आन्दोलन सशक्त बनाउने संघर्ष समितिको चेतावनी (भिडिओसहित)



काठमाडौं, ४ पुस । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले तत्काल मेलम्चीको पानी वितरणको ब्यवस्था गर्न माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आफूहरुको माग तत्काल पूरा नभए आन्दोलन सशक्त बनाउने चेतावनी दिएको हो ।

संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले संघर्ष समितिको सकारात्मक भूमिकालाई कमजोरीको रुपमा नलिन आग्रह गरे । उनले स्थानीय जनताको कुनै अवरोध नहुँदा नहुँदै पनि त्यसैलाई वाहना बनाइएको बताए । विभागीय मन्त्री महिन्द्रा राय यादवले मुहानमा पुगेर सात दिनमै पानी आउँछ भनी संघर्ष समिति समक्ष प्रतिवद्धता जनाएको तीन हप्ता वित्दा पनि पानी नआएको उनको भनाइ छ ।

साथै, हिजो मेलम्ची खानेपानीको सन्दर्भमा सरकारी निकायबाट जारी भएको विज्ञप्तिमा विश्वास गर्न सकिने आधार नरहेको उनले बताए । संघर्ष समितिले गत पुस २ गते गरेको विशाल जनप्रदर्शनबाट तर्सिएर हिजो सरकारले विज्ञप्ति जारी गरेको उनको दाबी छ । वर्तमान अवस्थामा पानी छाड्न २८ दिन लाग्ने परिस्थिति नरहेको उनले बताए । संघर्ष समितिको आन्दोलनलाई कमजोर बनाउने उद्देश्यले आउने विज्ञप्ति आफूहरुलाई स्वीकार्य नहुने उनले बताए ।

उनले संघर्ष समितिका माग पूर्ण रुपमा पूरा नभएसम्म आन्दोलन जारी रहने पनि बताए । अहिले बनेको उपत्यका संघर्ष समिति मेलम्चीको लागिमात्रै नभएर आगामी दिनमा आउने खानेपानी समस्या समाधान गर्नका लागि आफूहरु लागिरहेने उनको भनाइ छ ।

संघर्ष समितिकी सदस्य सीता कँडेल पराजुलीले मेलम्ची खानेपानी तुरुन्त सुचारु गरिनुपर्ने बताईन् । आफूहरु मेलम्ची खानेपानीको निरन्तरताको लागि आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । राज्यले पूरा गर्नुपर्ने खानेपानीको दायित्वमा पनि आफूहरुले आन्दोलन गर्नुपरेको भन्दै उनले दुःख व्यक्त गरिन् । उपत्यकामा खानेपानीको स्थायित्वका लागि आफूहरु निरन्तर रुपमा लागिरहने उनको भनाइ छ ।

संघर्ष समितिका सदस्य हरि गौतमले खानेपानीका लागि जनता समिति बनाएर सडकमा आउँदा पनि सरकारले एकलौटी निर्णय गरेर विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाए ।

‘रित्तो गाग्री बोकेर पानी देउ भनेर जनता सडकमा आइरहेका छन्, यो मागलाई सम्बोधन नगरी, संघर्ष समितिलाई नबोलाई एकलौटी निर्णय गर्न पाइन्छ ?’ उनले प्रश्न गरे ।

संघर्ष समितिका सदस्य ललित महर्जनले विश्व डिजिटल युवमा प्रवेश गरिसकेको अवस्थामा आफूहरु खानेपानीजस्तो अत्यावश्यक चिजका लागि प्रदर्शन गर्नु परेको भन्दै दुःख ब्यक्त गरे । आगामी शुक्रबारसम्म पनि सरकारले मेलम्ची खानेपानी खोल्ने ब्यवस्था सरकारले नमिलाएको खण्डमा आन्दोलनलाई थप सशक्त बनाउने उनको चेतावनी छ । सरकारले आफूहरुको माग नसुनेमा ललितपुर ठप्प पार्ने गरी आन्दोलन गर्ने उनले बताए । उनले उपत्यकावासीहरुको घरको धारा–धारामा पानी नझरेसम्म आन्दोलन जारी रहने बताए । सरकारले आफूहरुको मागप्रति अनदेख गरे उपत्यकानै ठप्प पार्ने उनको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot