जनकपुरधाम। तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
वर्षौंदेखि पुल सञ्चालनको प्रतीक्षामा रहेका दुवै जिल्लाका स्थानीयवासी निर्माणकार्यले अन्तिम रूप लिन थालेपछि उत्साहित भएका छन् । पुल माथिको ढलानको काम सम्पन्न भइसको र पुललाई दुबै तर्फबाट जोड्न माटो हाल्ने काम भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले बताए।
माटो फिलिङको काम सकिएपछि पुल मङ्सिर पहिलो सातादेखि बाट पुर्ण रूपमा सञ्चालन गरिने प्रमुख महतोले बताए। यस्तै हुलाकी सडक अन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्मको सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना खाली गराएको छ।
प्रमुख महतोेका अनुसार सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा, घुम्ती पसललगायत संरचना हटाएर सडक खाली गराईएको छ । पटकपटक सूचना जारी गर्दा पनि सम्बन्धित व्यक्तिले संरचना नहटाएपछि बाध्य भएर डोजर प्रयोग गरेर संरचना हटाइएको प्रमुख महतोको भनाइ छ।
विसं २०६८ मा कमला पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले पाएको थियो । विसं २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलर भाँचिएपछि निर्माण सम्पन्न हुन सकेको थिएन । पुल जीर्ण भएपछि स्थानीयवासीले लामो समयसम्म नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपरेको थियो।
पुल पुनःनिर्माणका क्रममा देखिएका प्राविधिक तथा अन्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि निर्माणले गति लिएको प्रमुख महतोले बताए। पुलका दुवैतर्फ पुग्ने सडकमा माटो भर्ने काम सम्पन्न भएपछि मङ्सिरदेखि सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित निर्माणकार्यलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।
कमला नदीमा पुल नहुँदा तथा पुरानो पुलबाट आवतजावतमा समस्या भएपछि सिरहा र धनुषाका बासिन्दाले लामो समयदेखि सास्ती भोग्दै आएका थिए । विशेषगरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा स्थानीयवासीलाई आवतजावत गर्न डुङ्गा चढ्नुपर्ने अवस्था थियो।
कतिपय अवस्थामा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि सिरहा र धनुषाबीचको यातायात सम्पर्क थप सहज हुने धनुषाको कमला नगरपालिकाका स्थानीय सुमनकुमार यादवले बताए।
यसबाट दैनिक कामकाज, शिक्षा, स्वास्थ्य सेवा, व्यापार तथा अन्य सामाजिक गतिविधिका लागि एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्ने सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन् ।
कमला पुल सञ्चालनमा आउनु दुई जिल्लाका बासिन्दाका लागि यातायात सुविधामा सुधार मात्र नभई आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारको महत्वपूर्ण आधार बन्ने देखिन्छ। विशेषगरी कृषि उपज, स्थानीय उत्पादन तथा व्यापारिक सामग्रीको ढुवानी सहज हुँदा स्थानीय बजार र व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। रासस




प्रतिक्रिया