तिहारले सामाजिक सद्भाव र सांस्कृतिक एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक तथा सांस्कृतिक एकतालाई मजबुत बनाउने बताएका छन् ।

तिहार–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तिहार नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको विशेष पर्व भएको उल्लेख गरेका हुन् ।

उनका अनुसार तिहारमा काग, कुकुर, गाई तथा गोरुको पूजा गर्ने परम्पराले मानव र प्रकृतिबीचको सम्बन्धलाई उजागर गर्नुका साथै सम्पूर्ण प्राणी जगत्प्रति सम्मान, माया र कृतज्ञता प्रकट गर्दछ ।

त्यस्तै, लक्ष्मीपूजा, भाइटीका तथा देउसी–भैलोजस्ता सांस्कृतिक गतिविधिले परिवार र समाजबीच आत्मीयता, एकता र आपसी सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् । मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा जिम्मेवारी रहेको उनको भनाइ छ ।

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक हित र रचनात्मक कार्यमा खर्च गर्ने अभ्यासलाई पनि उनले महत्त्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा व्याख्या गरेका छन् ।

मुख्यमन्त्री आचार्यले मुलुकमा देखिएका समस्या तथा चुनौतीको दीर्घकालीन समाधानका लागि संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण तथा सुशासन आवश्यक रहेको बताएका छन् । यसका लागि सबै पक्षबीच एकता, सहकार्य र साझा प्रतिबद्धता हुनुपर्नेमा उनले जोड दिएका छन् ।

तिहारले दिने सद्भाव, अनुशासन र सहयोगको भावनालाई व्यवहारमा उतार्दै प्रदेश सरकार सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन व्यवस्था निर्माणमा प्रतिबद्ध रहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

उनले ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य प्राप्तिका लागि कृषि, पशुपालन, उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको समेत बताएका छन् ।

मुख्यमन्त्री आचार्यले तिहारको अवसरमा सम्पूर्ण प्रदेशवासी तथा नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।