मन्त्री किराँतीलाई मनीष झाको प्रश्न: क्रिश्चियन धर्मको प्रचार गर्दै हिँड्न तपाईं मन्त्री बनेको हो ?


काठमाडौं,५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य मनीष झाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् ।

उनले आफ्नो क्षेत्राधिकार भित्रका भ्रष्टाचार र बेथितिका बारेमा चासो दिनुको साटो धर्म विशेषको प्रचार गर्दै हिँडेको आरोप लगाएका हुन्।

बुधबार राजधानीमा भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएपछि उनको चौतर्फी आलोचना भईरहेको छ ।

मन्त्री किराँतीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद झाले क्रिश्चियन धर्मको प्रचार गर्दै, बोल्दै हिँड्न पो मन्त्री बनेको हो भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्,‘विमानस्थलमा करोडौँको घोटाला, बोलेनन्। ध्वजावाहक विमानमा भ्रष्टाचार, बोलेनन्। अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुन लुकाउने दराज, बोलेनन्। ३१ जनालाई छाडेर ध्वजावाहक उडे,बोलेनन्।’

आफूले धेरैपटक गरेका प्रश्नमा पनि मन्त्रीले जवाफ नदिएको भन्दै उनले अगाडि लेखेका छन्, ‘जानकी मन्दिरको टायल र बत्तीमा भ्रष्टाचारबारे धेरैपटक सोधेँ, बोलेनन्। गुठीको सम्पत्ति सबै मिलेर लुट्दै छन्, बोलेनन्। ईयूको कालोसूचीबारे, बोलेनन्। भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुनुको कारणबारे सोधेँ, बोलेनन्। जानकी मन्दिर विश्वसम्पदा सूचीमा कहिले पर्छ भनेर सोधेको, बोलेनन्। अन्तर्राष्ट्रिय विमानस्थल ब्याग फोर्छ, सामान चोर्छ, गलत व्यवहार गर्छ। किन कारबाही नगरेको? बोलेनन्।’ अनी एक धर्मको प्रचार गर्दै बोल्दै हिँड्न पो मन्त्री बनेको ? यो ब्यबहार खेदजनक छ ।

Skip This

Omoda E5 Pro