काठमाडौँ। नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा प्रहरी हिरासतमा रहेका विचाैलिया इनाम सापकोटा प्रकरणले नयाँ तरङ्ग पैदा गरेको छ। सापकोटासँग जोडिएको अडियो प्रकरणपछि सभापति गगनकुमार थापा दबाबमा परेका छन् भने पूर्वसभापति शेरबहादुर देउवा पक्ष उत्साहित देखिएको छ।
कांग्रेसको आधिकारिकता र नेतृत्वलाई लिएर देउवा र गगन पक्षबीच चलिरहेको विवादका बीच सार्वजनिक भएको अडियो प्रकरणले राजनीतिक बहस थप चर्काएको हो। अडियोमा पार्टीको आधिकारिकता आफ्नो पक्षमा पार्न १८ करोड रुपैयाँ खर्च भएको दाबी गरिएको विषय सार्वजनिक भएपछि गगन नेतृत्वमाथि विभिन्न प्रश्न उठेका छन्।
यस प्रकरणपछि गगन थापा पक्षले आफूहरूमाथि नियोजित रूपमा आरोप लगाइएको भन्दै प्रतिवाद गरेको छ। थापाले बिहीबार एक भिडियाे सार्वजनिक गर्दै आफ्नो नेतृत्वले कुनै आर्थिक लेनदेन नगरेको दाबी गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्। उनले भने,‘विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ ? करोडको कुरा गर्छन् । पार्टीको आधिकारिकताको राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन ।’
अर्कोतर्फ, लामो समयदेखि पार्टीको नेतृत्व र आधिकारिकताको विवादमा संघर्ष गरिरहेका देउवा पक्षलाई याे अडियोले राजनीतिक रूपमा केही राहत दिएको देखिन्छ। अदालतमा विचाराधीन आधिकारिकताको विवाद र अहिले सार्वजनिक भएको अडियो प्रकरणले गगन नेतृत्वलाई थप दबाबमा पारेको छ।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र सुरु भएको विवाद अझै समाधान हुन सकेको छैन। निर्वाचन आयोगको निर्णयपछि पनि देउवा पक्षले कानुनी लडाइँ जारी राखेको छ। यस्तो अवस्थामा सापकोटा प्रकरणले कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा नयाँ बहस सिर्जना गरेको छ।
याे समाचार तयार पार्दैगर्दासम्म अडियोको आधिकारिकता र त्यसमा उल्लेखित आर्थिक कारोबारबारे पुष्टि भएकाे छैन । सरकारले याे विषयमा अनुसन्धान गरेर आधिकारिकता हाे वा हाेइन निष्कर्षमा पुर्याउन बाँकी छ। त्यसैले यस प्रकरणले कांग्रेसको राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने कुरा आगामी दिनमा हुने अनुसन्धान र अदालतको निर्णयले निर्धारण गर्नेछ।




प्रतिक्रिया