Logo

सुशासनको पाटोमा सरकार सबैभन्दा कमजोर : पदम गिरी



काठमाडौं, पुस ९ । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रचण्ड नेतृत्वको सरकार इतिहासकै सर्वाधिक असफल सरकार भएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका गिरीले एक वर्षको अवधिमा सरकारले गरेका कामहरुलाई नियाल्ने हो भने कुनै पनि क्षेत्रमा सन्तोषजनक उपलब्धिहरु नरहेको बताए । उनले सुशासनको पाटोमा सबैभन्दा कमजोरी अवस्था यहि अवधिमा रहेको दाबी गरे ।

विकाश निर्माण र पुँजीगत दृष्टिकोणमा पनि अत्यन्तै न्युन पुँजीगत खर्च देखिएको नेता गिरीले औल्याए। यस्तै विकाश निर्माणका काम प्राय ठप्प अवस्थामा रहेको, युवा पलायन दिनदिनै बढिरहेको, बेरोजगारी बढिरहेको,उद्योगाी, व्यापारी, व्यवसायी, मजदुर र किसान कुनै पनि पक्ष सन्तुष्ट नभएको अवस्थामा सरकारलाई सफल र चित्त बुझाउने अवस्था नभएको नेता गिरीको भनाइ छ ।

मुलुक यतिबेला चरम निराशाजनक अवस्थामा आएको बताउँदै उनले यसलाई समाधान कसरी गर्ने भनेर सरकारले कहि पनि खोजी नगरेको समेत आरोप लगाए । सरकार जनताप्रति उत्तरदायि र जवाफदेहि पनि नभएको नेता गिरीको तर्क रहेको छ ।

यस्तै नेता गिरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले सत्ताका मान्छेलाई उम्काउने र सत्तालाई बिझाएका मान्छेलाई थुन्ने काम गरहेको आरोप लगाए। सुन प्रकरण होस् या बालुवाटार प्रकरण यि सबै प्रकरणमा सरकारले सानातिना भरियाहरुलाई थुनेर ठुला मान्छेलाई उन्मुक्ती दिएर जनतालाई देखाउने र भ्रममा पार्ने काम गरिरहेको स्पष्ट पारे।



प्रतिक्रिया दिनुहोस्

Screenshot