चुरे उत्खनन सिफारिस गरेको आरोपमा कर्जन्हाका वडाध्यक्ष पक्राउ


सिरहा, १४ पुस । चुरे तथा वन क्षेत्रमा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई शुक्रबार पक्राउ गरेको छ ।

यही पुस ७ गते कर्जन्हा–१ बल्टियास्थित चुरे वन क्षेत्रभित्रको कमला नदीको बगरमा डोजर प्रयोग गरी अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानुन विपरीत सिफारिस सहयोग गरेको प्रमाण भेटिएपछि वनले वडाध्यक्ष पोखरेललाई पक्राउ गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए ।

सूचना अधिकारी चौधरीका अनुसार पक्राउ परेका अध्यक्ष पोखरेललाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको छ । यसै मुद्दामा बिहीबार डिभिजन वन कार्यालयले कर्जन्हा–७ स्थित कमला नदी किनारमा कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

पुस ७ गते वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट उत्खनन गरिरहेको अवस्थामा एक थान डोजरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई पनि वन कार्यालयले नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकाहरूलाई डिभिजन वन कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले जानकारी दिए । 

Skip This

Omoda E5 Pro