Logo

अष्ट्रेलियाका टप नेपाली अधिवक्ता टोनु घोथाने भन्छन्, ‘डिभोर्सको संख्या बढ्यो’



काठमाडौं, २९ पुस । एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष अधिवक्ता टोनु घोथानेले अष्ट्रेलियामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो समस्या मेन्टल हेल्थ भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अष्ट्रेलियामा रहेका नेपालीहरुको विभिन्न समस्यामध्ये पहिलो समस्या मेन्टल हेल्थ नै रहेको बताएका छन् । साथै, घरेलु हिंसा र डिभोर्स अहिलेको विकराल समस्या रहेको उनले बताए ।

साथै, अष्ट्रेलिया पुगेका नेपालीहरुमा सम्बन्ध विच्छेदका घटना पनि बढ्दै गएको उनले बताए । उनले आफ्नो ल फर्ममा पछिल्लो वर्ष डिभोर्सका मुद्दा सबैभन्दा धेरै आएको बताए । अष्ट्रेलियमा रहेका नेपाली दम्पतिबीच सम्बन्ध विच्छेदका घटना बढ्नुमा घरेलु हिंसा, एकअर्का बीच कुराकानी नमिल्नु र व्यस्तताका कारण समय दिन नसक्नु प्रमुख कारण रहेको उनको बुझाइ छ ।

अहिले अष्ट्रेलियामा रेष्टुरेन्टमा भाडा धुनेदेखि लिएर राम्रा–राम्रा पोष्टमा समेत नेपालीहरु कार्यरत रहेका उनले बताए । अष्ट्रेलिया गएर पैसासँगै नाम कमाउने नेपालीहरु धेरै रहेका उनले बताए । अष्ट्रेलियालाई उनले अवसरको भूमिका रुपमा व्याख्या गरे । साथै, अष्ट्रेलियामा रहेको डेढ लाख नेपालीहरुको हितमा पोलिसी निर्माणका लागि आफू त्यहाँको लिब्रल पार्टीको सदस्य भएर काम गरिरहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot