Logo

मन्त्रीहरु बर्खास्त गरेरमात्रै हुँदैन, दोषी देखिइसकेपछि कारबाही गर्नुपर्छः एमाले उपाध्यक्ष ज्ञवाली



काठमाडौं, १२ फागुन । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकारका मन्त्रीहरु दोषी देखिएपछि बर्खास्त गरेर मात्रै नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दोषीहरुलाई सरकारले छानविनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताए । मन्त्री, कर्मचारी र नेताहरु जोसुकैले गल्ती गरेको भएपनि उनीहरुमाथि कानुनी कारबाही हुनुपर्ने उनको भनाइ छ । सरकारले सस्तो लोकप्रियताका लागिमात्रै प्रचार गरेर नहुने उनले बताए ।

‘दोषी देखिएपछि त कारबाही गर्नुपर्यो नि । छानविनले नै दोषी देखाइसक्यो । एमालेले दोषी देखाएको त होइन नि ? जुन–जुन ठाउँमा मन्त्रीहरु, कर्मचारीहरु या नेताहरु जो–जो दोषी छन् तिनीहरुलाई सरकारले कारबाही गर्नुपर्यो । चाहे जतिसुकै माथि बस्ने हुन्, तिनीहरुले गल्ती गरेका छन् भने कारबाही गर्नुपर्छ । लोकप्रियता हासिल गर्ने हिसाबले प्रचारात्मक ढंगले कुराहरु गर्नुभएन भन्ने हाम्रो भनाइ हो,’– उनले भने ।

दुई जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई दोषी करार गरेको छ । मन्त्री ज्वालाको राजीनामा वा बर्खास्तीको विषय संसद्मा खरो रुपमा उठिरहेको छ । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका प्रतिपक्षीहरुले मन्त्रीको राजीनामा माग गरिरहेका छन् । साथै, विभिन्न प्रकरणमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्ने र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको पनि प्रतिपक्षीहरुले राजीनामा मागिरहेका छन् ।

मन्त्रीहरु दोषी भइसकेपछि राजीनामा वा बर्खास्तीमात्रैले नहुने उनीहरुलाई कानुनबमोजिम कारबाही गरिनुपर्ने एमाले उपाध्यक्ष ज्ञवालीले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot