एनपीएल: पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित


काठमाडौं । युवराज सर्म्राको शतक र कुशल भुर्तेलको अर्धशतकको मद्दतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पहिलो जित निकालेको छ । पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रनको विशाल योगफल बनाएको थियो । जवाफमा कर्णाली १९.३ ओभरमा १५४ रनमा समेटियो ।

यो जितसँगै लगातार चार हारको शृंखला तोडेको पोखराले प्रतियोगितामा पहिलो दुई अंक जोडेको छ । यसअघि पोखरा चितवन राइनोजसँग ३० रन, लुम्बिनी लायन्ससँग आठ विकेट, जनकपुर बोल्ट्ससँग नौ रन र सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।

पोखराका लागि ओपनर युवराज सर्म्राले ४७ बलमा १० चौका र ६ छक्कासहित १०२ रनको विस्फोटक इनिङ खेले । जारी सिजनको यो पहिलो शतक हो । शतकसँगै उनी जारी प्रतियोगितामा सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडीसमेत बनेका छन् । यसअघि कर्णालीका डेविड मिलरले सुदूरपश्चिमविरुद्ध ९३ रन बनाएका थिए ।

यस्तै, कुशल भुर्तेलले ३९ बलमा सात छक्कासहित ६२ रनको अर्धशतकीय इनिङ खेले । एनपीएलमा कुशलको यो तेस्रो अर्धशतक हो । यसअघि उनले पहिलो सिजनमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए ।

युवराज र कुशलले दोस्रो विकेटका लागि १३२ रनको शतकीय साझेदारी गर्दै पोखरालाई विशाल योगफलतर्फ डोहोर्‍याए । उनीहरूको साझेदारी १५.५ ओभरमा मार्क वाटले तोडे । उनले युवराजलाई अरिफुल इस्लामबाट क्याच गराए ।

अविजित रहेका कप्तान चमिका करुणारत्नेले ११ बलमा समान तीन चौका र छक्कासहित ३५ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले दुई तथा मार्क वाटले एक विकेट लिए ।

२१८ रनको लक्ष्य पछ्याएको कर्णालीले सुरुआतदेखि नै नियमित विकेट गुमायो । पोखराका मेहदी हसनले तीन विकेट लिएर कर्णालीको ब्याटिङ धराशायी बनाउन महत्त्वपूर्ण भूमिका खेले ।

मेहदीले ५.३ ओभरमा मार्क वाटलाई किरण ठगुन्नाबाट क्याच गराए । त्यसको दुई बलपछि ५.५ ओभरमा २२ रन बनाएका दीपक डुम्रेलाई बोल्ड गरे । उनले तेस्रो विकेटका रूपमा डेविड मिलरलाई चमिका करुणारत्नेबाट क्याच गराए ।

कुशल भुर्तेल, धनन्जय लक्ष्मण र विपिन खत्रीले समान दुई विकेट लिए ।

कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए । ओपनर अरिफुल इस्लामले २४, दीपक डुम्रेले २२, सोमपाल कामीले २१ र सूर्य तामाङले १३ रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मार्क वाटले आठ रन बनाउँदा डेविड मिलर सात रनमै आउट भए । सुदूरपश्चिमविरुद्ध अघिल्लो खेलमा ९३ रन बनाएका मिलर मेहदीको बलमा लामो सट खेल्ने प्रयास गर्दा क्याच आउट भएका थिए । गुल्सन झाले दुई रन बनाए भने ओपनर जिशन आलम खाता नै नखोली आउट भए ।

यस हारसँगै पाँच खेलमा दुई जित र तीन हार बेहोरेको कर्णाली चार अंकसहित छैटौँ स्थानमा छ । कर्णालीको प्लेअफ सम्भावना पनि कठिन बनेको छ ।