Logo

आजपाले भ्रष्टाचारको विरुद्धमा यही चैत्र २४ गते काठमाडौंमा प्रदर्शन गर्ने



काठमाडौं, २ चैत्र । आम जनता पार्टीले यही चैत्र २४ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । आज (शुक्रबार) पार्टी मुख्यालय, कोटेश्वरमा बसेको पदाधिकारी बैठकले यही चैत्र २४ गते देशमा बढ्दो लुट र भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गर्ने निर्णय लिएको अध्यक्ष प्रभु साहले जानकारी दिए ।

आजपाले सुशासन कायम गराउनको लागि देशव्यापी रुपमा प्रदर्शन गर्दै आएको छ । यसअघि काठमाडौंमा नै आजपाका विभिन्न जनवर्गीय संगठनले लुटकारी राजश्व प्रावधान हटाउनको लागि आन्दोलन गरेको थियो ।

जनआन्दोलनको अवसरमा आजपाले लुट, भ्रष्टाचार, अनियमितता, कुशासनका बिरुद्धमा जनप्रदर्शन गर्न लागेको आजपा महासचिव त्रिभुवन साहले जनाएका छन् । आजपा पदाधिकारी बैठकले जनप्रदर्शनलाई व्यवस्थित गर्नका लागि विभिन्न समितिसमेत गठन गरेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहको संयोजकत्वमा व्यवस्थापन समिति, उपाध्यक्ष अरुण घिसिङ, उपमहासचिव चन्द्रभुषण साह रहेको प्रचारप्रसार समिति, महासचिव त्रिभुवन साहको संयोजकत्वमा जनपरिचालन समिति गठन भएको छ । यसअघि आजपाले लुट, भ्रष्टाचार, अनियमितता, कुशासनका बिरुद्धमा प्रदर्शन एवं विरोधका कार्यक्रम गर्दै आएको छ ।

केही समय अघि भ्रष्टाचारको विरुद्धमा काठमाडौंमा प्रदर्शन गरेको आजपाले बैंक, लघुवित पीडितलाई न्याय दिनुपर्ने भन्दै मधेस बन्द समेत गरेको थियो । यस्तै भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत लुटकारी व्यवस्थाको विरोधमा चरणबद्ध आन्दोलन गरेको आजपाले गरिब, किसान, मजदुर तथा सर्वसधारणको अधिकारका लागि संघर्ष गर्दै आएको छ ।

दलिय सिण्डिकेटका विरुद्धमा आवाज उठाउँदै आएको आजपाले शासनसत्तामा आम जनताको पहुँच हुनुपर्ने माग गर्दै आएको छ । पदाधिकारी बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको व्यवस्था असफल भएकाले मुलुक समृद्ध बन्न नसकेको निश्कर्ष सुनाएका थिए । मुलुकलाई समृद्ध बनाउँनका लागि शासन सत्तामा आम जनताको पहुँच हुनुपर्ने उनको भनाई थियो । त्यसका लागि संगठन निर्माणमा जुट्न पार्टी पँक्तिलाई निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot