एमाले मोरङ अधिवेशन: नेतृत्व चयनका लागि मतदान जारी, ९४ पदका लागि १ सय ९१ जना चुनावी मैदानमा


काठमाडौं । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयन गर्न मतदान शुरू भएको छ । बिहान साढे ९ बजेदेखि मतदान शुरू भएको हो । साँझ ४ बजेसम्म मतदानको समय राखिएको एमालेले जनाएको छ ।

निर्वाचन कमिटीका अनुसार एक पटकमा २० जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ । १६५ सदस्यीय जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा प्यानल बनेको छ । दुवै प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

मनोनयन दर्ता गरेका ३ सय २५ जना मध्ये ७१ जना सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेको जनाइएको छ । ५ पदाधिकारीसहित ९४ पदका लागि १ सय ९१ चुनावी मैदानमा कायम रहेका छन् । त्यस्तै मङ्गलवार ६३ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

नयाँ नेतृत्व चयनका लागि संस्थापन पक्ष र इतर समूहले फरक फरक प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीले उमेदवारी दिएका छन् । यस्तै, इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले उमेदवारी दिएका छन् ।

संस्थापन समूहलाई प्रदेश अध्यक्ष घनश्याम खतिवडाले साथ दिँदा अर्का नेता विनाद ढकालले इतर गुटको नेतृत्व गरेका छन् । ढकाल गत प्रदेश अधिवेशनमाअध्यक्षमा खतिवडासँग पराजित भएका थिए ।

कुनै बेला प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्यन्त निकट नेता मानिने ढकाल हाल ओली पक्षबाट किनाराकृत बनेका छन् । ओलीको पेलानमा परेका ढकालले अहिले जिल्लामा संस्थापन इतर समूहको नेतृत्व गरिरहेका छन् । उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी गुटको नेतृत्व गरिरहेको नेताहरु बताउँछन् ।

प्रदेश अध्यक्षमा हारेका ढकालको शक्ति जाँच्ने मौकाका रूपमा मोरङको अधिवेशनलाई लिईरहँदा अध्यक्षमा पूर्व सांसद ओझा र जिसस मोरङ प्रमुख राईबीचको प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ ।

अध्यक्षमा उम्मेदवारी दिएका ओझालाई प्रदेश अध्यक्ष खतिवडा, कोशीका मुख्यमन्त्री हिक्मत कार्की, पूर्व मुख्यमन्त्री शेरधन राई, भीम आचार्यलगायतले समर्थन गरेका छन् ।अध्यक्षका उम्मेदवार राईको पक्षमा भने पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल, केन्द्रीय सदस्यहरू रामलाल साह, यज्ञराज बाँस्कोटा र नैनकला ओझालगायत छन् ।