कक्षा १२ को परीक्षमा शिक्षकहरु सहभागी नहुने, उत्तरपुस्तिकासमेत परीक्षण नगर्ने चेतावनी


काठमाडौं, ९ वैशाख । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कक्षा १२ को परीक्षामा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीहरुलाई आग्रह गरेका छन् । शिक्षकहरु आज (मंगलबार) २१औं दिनको काठटमाडौं केन्द्रीत आन्दोलनमा छन् । आन्दोलनस्थलबाटै अध्यक्ष सुवेदीले कक्षा १२ को परीक्षामा कोही पनि सहभागी नहुने र उत्तरपुस्तिका समेत परीक्षण नगर्ने चेतावनी दिएका हुन् ।

‘राष्ट्रिय परीक्षा बोर्डले निजामति कर्मचारी र सुरक्षाकर्मी परिचालन गरेर भएपनि परीक्षा चलाउँछु भनेको रहेछ, त्यो उसको कुरा हो । कोही पनि प्रधानाध्यापक, शिक्षक, कर्मचारी त्यो प्रक्रियामा सामेल नहुनका लागि हामी अनुरोध गर्दछौं । हामी कोही सामेल हुँदैनौं । कापी पनि उनीहरु नै परीक्षण गरून्, परीक्षा पनि उनीहरु नै चलाउन् । हामी पनि हेरौंला । त्यसैले सबै शिक्षक, कर्मचारी साथीहरुलाई सामेल नहुन निर्देशन दिन पनि म अनुरोध गर्छु,’– उनले भने ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । बोर्डको उक्त निर्णयले शिक्षक आन्दोलन थप मुडभेडतर्फ गएको छ । File Photo/RN