छठमा सुरक्षा सतर्कता बढाउन प्रहरी महानिरीक्षक केसीको निर्देशन


काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले छठ पर्वका क्रममा हुन सक्ने सम्भावित अप्रिय घटना तथा अवाञ्छित गतिविधि नियन्त्रणका लागि सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

शनिबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममा काठमाडौं उपत्यका प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई सम्बोधन गर्दै उनले विगतका घटनाको समीक्षा गरी आवश्यक सुरक्षा रणनीति तयार पार्न निर्देशन दिएका हुन्।

छठ पर्वमा नदी, तलाउ तथा पोखरीका घाटमा ठूलो संख्यामा श्रद्धालु र व्रतालु भेला हुने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थामा विशेष सतर्कता अपनाउन उनले जोड दिए। विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि आवश्यक रणनीति बनाउन र सम्भावित घटनाप्रति पूर्वतयारी अवस्थामा रहनसमेत उनले निर्देशन दिए।

सुरक्षा अवस्थाको मूल्याङ्कन गरेर बल प्रयोग गर्दा संवेदनशीलता अपनाउनुपर्ने उल्लेख गर्दै केसीले प्रदेश प्रहरी प्रमुखहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा सुरक्षा व्यवस्थाको नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण गर्न आग्रह गरे। सुरक्षा व्यवस्थामा देखिएका कमजोरी तत्काल सुधार गर्न पनि उनले निर्देशन दिएका छन्।

छठ पर्व सकिएपछि हुन सक्ने सम्भावित अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै सूचना सङ्कलन र विश्लेषणका आधारमा विशेष सुरक्षा योजना बनाउनुपर्ने उनको भनाइ थियो। सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउनसमेत उनले निर्देशन दिए।

प्रहरी संगठनभित्र गैरव्यावसायिक गतिविधिमा संलग्न हुने कर्मचारीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिँदै उनले प्रहरीको कार्यसम्पादनलाई थप प्रभावकारी र जिम्मेवार बनाउन निर्देशन दिएका छन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक केसीले काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख र प्रतिनिधिबाट छठ पर्व लक्षित सुरक्षा योजनाबारे जानकारीसमेत लिएका थिए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकसहित विभिन्न तहका प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।