प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता, साथमा लेखक र पौडेल


काठमाडौं, १४ बैशाख । सत्ता गठबन्धनमा फेरबदलको हल्ला चलिरहेको बेलामा प्रमुख सत्ता सहयात्री दलका शीर्ष नेतृत्वबीच छलफल भएको हो । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा छलफल भएको हो । देउवा उपचारबाट फर्किएको भोलिपल्ट आज (शनिबार) राति अबेर दुई नेता छलफलमा जुटेका हुन् ।

दुई घण्टा लामो चलेको उक्त भेटवार्तामा एमालेबाट उपाध्यक्ष एवम अर्थमन्त्री विष्णु पौडेल र कांग्रेसबाट प्रभावशाली नेता एवम् गृहमन्त्री रमेश लेखकपनि सहभागी थिए । सभापति देउवाले हिजो काठमाडौं ओर्लिएपछि पत्रकारहरुले सोधेको प्रश्नमा सत्ता गठबन्धन नढल्ने र राम्रोसँग अघि बढ्ने बताएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार चाँडै ढल्ने दाबी गरेका छन् । उनले कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार बन्नेसमेत घोषणा गरेका छन् । तर, आज भएको भेटवार्तामा दुवै दलका नेतृत्वहरुले गठबन्धन दायाँबायाँ नहुने विश्वास दिलाएका छन् ।

प्रधानमन्त्री ओली र देउवा भेटवार्तामा बसेकै दिन कांग्रेस सांसद माया राई पक्राउ परेकी छिन् । उनी काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा फरार थिईन् । उनलाई आज साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनकै निवास कपनबाट पक्राउ गरेको हो ।