काठमाडौं, २१ वैशाख । पत्रकारिता, संगीत तथा साहित्यका माध्यमबाट भ्रष्टाचारविरुद्ध आवाज उठाउने स्रष्टाहरूलाई हेम–सरिता पाठक फाउन्डेसनले नगदसहित सम्मान गरेको छ।
शनिवार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच ‘टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार–२०८१’ कान्तिपुर दैनिकका खोज पत्रकार मातृका दाहाल र उकालो अनलाइनकी पत्रकार दीपा दाहाललाई जनही एक लाख रुपैयाँ राशिको सुशासन पुरस्कार प्रदान गरिएको हो।
उक्त पुरस्कार अमेरिकाको टेक्ससमा रहेको फाउन्डेसनले स्थापना गरेको हो । खोज पत्रकारिताका माध्यमबाट सुशासन प्रवर्द्धन र भ्रष्टाचार उजागरमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै दाहालद्वयलाई नगद तथा सम्मानपत्रसहित सम्मान गरिएको फाउन्डेसनले जनाएको छ।
कार्यक्रममा गीत, संगीत र कविता विधामा भ्रष्टाचारविरुद्धको सशक्त अभिव्यक्ति गर्ने स्रष्टाहरू पनि पुरस्कृत भएका छन्। ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार–२०८१’ गीतकार गोपालप्रसाद थपलिया र संगीतकार शिशिर योगीलाई जनही ५० हजार रुपैयाँ राशिसहित प्रदान गरिएको छ। त्यस्तै, ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार–२०८१’ कवि तोया भट्टलाई नगद एक लाख रुपैयाँसहित प्रदान गरिएको हो।
बेथितिविरुद्ध लेखन गर्दै आएका २५ जना कविलाई समेत प्रशंसा पत्रसहित विशेष सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि, प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक तथा अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए।
कार्यक्रममा अन्तर्राष्ट्रिय समितिकी अध्यक्ष जेनी पाठकले भ्रष्टाचारविरुद्धको अभियानलाई जन–जनसम्म पुर्याउँदै आगामी दिनहरूमा सुशासन प्रवर्द्धनका निमित्त स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म वकालत गर्ने जानकारी दिइन्।
त्यस्तै फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले आफू र सिंगो परिवार भ्रष्टाचारबिरुद्ध अभियान चलाउनकै लागि अमेरिकाको बसाई छाडेर नेपाल फिर्ता भएको र अब भ्रष्टाचारबिरुद्ध ७७ वटै जिल्लामा अभियान चलाउने बताए ।
प्रमुख अतिथि सांसद सिंहले भ्रष्टाचार अन्त्यका लागि मुलुकभर एकतावद्ध प्रयास आवश्यक रहेको बताए। उनले “मुख्य भ्रष्टाचारी नेताहरू उन्मुक्ति पाउने तर कर्मचारी मात्र कारबाहीमा पर्ने प्रवृत्तिले न्यायको उपहास हुने” टिप्पणी गरे।
कार्यक्रममा हेम-सरिता पाठक फाउन्डेसनद्वारा गरिएको भ्रष्टाचारसम्बन्धी कविता प्रतियोगितामा छनोट भएका उत्कृष्ट कविताहरूको सँगालो भ्रष्टाचारविरुद्धका कविता- २०८२ सार्वजनिक गरिएको थियो
सन् २०११ मा स्थापना गरिएको यो संस्था भ्रष्टाचारको उन्मूलन, सुशासन प्रवर्द्धन तथा समाजका वञ्चित वर्गलाई शिक्षाको पहुँचमा ल्याउने मुख्य उद्देश्यका साथ स्थापना गरिएको हो। फाउन्डेसनका संरक्षक हेम पाठक र संरक्षक सरिता पाठकको नेतृत्वमा यो संस्था अमेरिकादेखि नेपालसम्म विभिन्न तहका परियोजनाहरू सञ्चालन गरिरहेको छ।
फाउन्डेसनको मुख्य उद्देश्य भ्रष्टाचारविरुद्ध सामग्री उत्पादन गर्नु, जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु, अनुसन्धान पत्रकारिता तथा सिर्जनात्मक क्षेत्रका व्यक्तिहरूलाई प्रोत्साहन गर्दै सुशासन प्रवर्द्धन गर्नु हो। साथै, फाउन्डेसनले विद्यालयको भौतिक पूर्वाधार निर्माण, छात्रवृत्ति वितरण तथा विपन्न परिवारका बालबालिकालाई आवाससहितको शिक्षा उपलब्ध गराउँदै आएको छ।
भ्रष्टाचारविरुद्ध दृढ प्रतिबद्धता जनाउँदै आएको फाउन्डेसनले शिक्षाका क्षेत्रमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेको छ। यसले विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक सहायतामार्फत गुणस्तरीय शिक्षामा पहुँच दिलाउँदै आएको छ।




प्रतिक्रिया