- प्रविन पौडेल
विश्व चर्चित हार्वर्ड, अक्सफोर्डजस्ता विश्वविद्यालयहरु खोज, अनुसन्धान र नवप्रवर्तनमा ब्यस्त छन् । तर, हाम्रा विश्वविद्यालय कता अल्झिरहेका छन् भन्ने हामीलाई होसै छैन। अझै पनि क्याम्पसहरु भागबन्डा र ब्यक्तिगत स्वार्थबाट माथि उठ्न सकेको छैनन् । विदेशमा विश्वविद्यालयहरू बौद्धिक सम्पत्तिको हिसाबले एकअर्कामा प्रतिस्पर्धा गर्दैछन् । नेपालमा भने कति विद्यार्थीले विश्वविद्यालयमा पढ्दैगर्दा बीचमा पढाई छोडेर पूर्णकालीन जागिरमा लागे अथवा कति विदेश होमिए भन्ने तथ्याङ्क खोज्न लाग्नुपर्ने परिस्थिति छ ।
एएस अहितल र शुभराजज्योत्स्ना अहितलले आफ्नो लेख विश्वस्तरीय विश्वविद्यालयहरूको लागि आवश्यक पूर्वाधारहरू भन्ने विषयमा कसरी विश्व चर्चित विश्वविद्यालयहरुले नवप्रवर्तनका निम्ति पूर्वाधारहरु निर्माण गरेका छन् भनेर खोज गर्दछन् । यस कागजमा यो प्रबर्द्धन बृद्धि गर्नका निम्ति छ वटा पूर्वाधारहरू विकास गर्नुपर्ने जुन प्रख्यात विश्वविद्यालयद्वारा विकसित गरिएको छ । भौतिक पूर्वाधार, डिजिटल पूर्वाधार, आत्मविश्वास निर्माणको लागि नवीन शैक्षिक र प्रशिक्षण पूर्वाधार, बौद्धिक सम्पत्ति पूर्वाधार, भावनात्मक पूर्वाधार र सञ्जाल पूर्वाधारलाई महत्वपूर्ण मानिएको छ ।
यसरी निर्माण गरिएको पूर्वाधारमा विद्यार्थीहरुले नवप्रवर्तनका कुरा सिक्न र बुझ्नसक्थे। तर हाम्रो विश्वविद्यालयहरु अझै पनि विद्यार्थीको परीक्षाफल र अंक गणितमा रमाइरहेका छन् । कुनै विद्यार्थी कुनै खोज अनुसन्धानमा रुचि राख्छ भने पनि उसले आपनो पूरा समय र मेहनत सोही नियमित जाँचमा नै केन्द्रित गर्नुपर्ने स्थिति छ। सो जाँचमा राम्रो अंक ल्याए स्याबास भन्ने नल्याएको खण्डमा अनुहार खुम्चाउने चलन जीवितै छ । स्नातक सकिँदा उत्कृष्ट अंक ल्याउने विद्यार्थी विदेशको राम्रो विश्वविद्यालयमा छात्रवृत्तिको आवेदनमा लाग्दछन् भने ठिक्क अंक ल्याउने स्नातकोत्तरको तयारीमा लाग्छ । अधिकांश विद्यार्थी राम्रो जागिर खोज्न तिर लाग्दछन्। यतिमा सिमित भइरहेको छ हाम्रो विश्वविद्यालयहरुको यात्रा, हाम्रा अध्ययन अनुसन्धानको यात्रा ।
नयाँ कुराको खोज अनुसन्धानप्रति न विश्वविद्यालय प्रशासनलाई रुचि छ, न विद्यार्थीहरु नै यस प्रति इच्छुक देखिन्छन् । नयाँ नीति नियमका कुरा छन् न त नयाँ कानुन निर्माणका कुरा । सो दुर्दशाको नतिजा पनि हाम्रो आँखा अगाडि छर्लङ्ग छ। छिमेकी मुलुक चीन, भारतलगायतका देशहरु प्रविधिको उच्चतम् विकासमा रमाइरहेका छन् । हामीभने फेसबुकलगायतका सामाजिक सञ्जालमा रमाइरहेका छौँ । न कुनै विद्यार्थीलाई नवप्रर्वद्धनमा रुचि छ, न त क्याम्पस प्रशासन रुचि जगाउनमा केन्द्रित छ । सबै जना यथास्थितिमा रमाइरहेका छौँ ।
विकसित मुलुकका विश्वविद्यालयहरुको मापन उनीहरुले उत्पादन गरेका नयाँ सोच विचार, खोज अनुसन्धानमा केन्द्रित छन् । बौद्धिक सम्पत्ति अन्तर्गत पेटेन्ट दर्ता गराई सञ्चालनमा पनि आएर त्यसबाट मुनाफा निकाल्न सफल छन् उत्कृष्ट विश्वविद्यालयहरु । उदाहरणका लागि युनिभर्सिटी कलेज लन्डन (युके) ले २०२०/२१ शैक्षिक वर्षमा, युसीएलले बौद्धिक सम्पत्तिबाट ७.३ मिलियन पाउण्ड र स्पिन–अफ कम्पनीहरूमा सेयर बिक्रीबाट २५.२ मिलियन पाउण्ड आम्दानी गरेको रिपोर्ट गरेको छ। त्यस अवधिमा, युसीएलले २,३९१ पेटेन्टहरू राखेको थियो र २,२३५ बौद्धिक सम्पत्तिको लाइसेन्स प्रदान गरेको थियो ।
ठीक छ, हाम्रो देश विकासोन्मुख छ । विकसित देशको जस्तो पूर्वाधार अझै विकास नभएको होला । तर, विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा नवप्रवर्द्धन र बौद्धिक सम्पत्तिको विकासजस्तो विषयमा बहस छेड्न अब ढिलो भएन र ? अहिलेका विद्यार्थीहरु नयाँ कुरा सिक्ने खोज्नेभन्दा पनि सामाजिक सञ्जालमा मोहित रहने र राजनितिक अवस्थालाई गाली गर्नमा बढी समय खर्चिरहेका छन् । आफैले केहीँ नयाँ सीप सिक्ने अथवा नयाँ विषयको खोजमा ध्यान दिने विद्यार्थी विरलै भेटिन्छन् अहिले ।
हुन त म आफै पनि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी नै हुँ । तरपनि अहिलेको विश्वविद्यालय क्याम्पसको मनस्थिति हेर्दा चिन्तित हुन्छु। नयाँ सीप, नयाँ सोच सिक्ने मौका कहिले पाउँछौ ? थाहाँ छैन। अहिलेको शिक्षाले हामीलाई एउटा निश्चित प्रणालीमा काम गर्ने जागिरेको लागि तयार गर्दैछ । विश्वविद्यालयमा हामीलाई न कुनै नयाँ कुरा सिकेर अहिलेको अवस्थालाई चिर्न सक्ने क्षमताको ब्यक्ति बनाइँदै छ । न त आफ्नै भरमा नयाँ उद्यमशीलता गर्न सक्ने जनशक्ति बनाइँदै छ । हामी बन्दै छौँ त केवल नयाँ कामदार (जागिरे), जसले अरुले सिकाएको कुरा नै सिक्धै जान्छौ र सोहि अनुरुप काम गर्ने बानि विकास गर्दै जान्छौँ । हामीसँग केही नयाँ कुरा छैन र विश्वलाई ठुलो योगदान दिने सामर्थका हामी छैनौँ । कहिले हुन्छ हाम्रो विश्वविद्यालयहरुमा नव प्रवर्द्धनका कुरा ? कहिले दिन्छौंं विश्वलाई हाम्रा बौद्धिक सम्पत्ति र त्यसका फाइदा ?
प्रतिक्रिया