गभर्नर सिफारिस समितिका सदस्य पौडेलले दिए पदबाट राजीनामा


काठमाडौं, २९ वैशाख । गभर्नर सिफारिस समितिका सदस्य विश्व पौडेलले पदबाट राजीनामा दिएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच नेपाल राष्ट्र बैंकका गभर्नरमा उनको नाम सिफारिस गर्ने सहमति भएको थियो । ओली–देउवाबीच सहमति भएसँगै गभर्नर बन्नका लागि उनले सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।

गभर्नर सिफारिस समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल रहेका छन् । विश्व पौडेलले अर्थमन्त्री पौडेललाई इमेलमार्फत राजीनामा पठाएका छन् । उनी योजना आयोगका पूर्व उपाध्यक्षसमेत हुन् । यसअघि सभापति देउवा र प्रधानमन्त्री ओलीबीच डा.गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले गभर्नर बन्नका लागि पदबाट राजीनामासमेत दिइसकेका थिए । तर, भट्टको राजीनामा स्वीकृत नहुँदा गभर्नर नियुक्ति प्रक्रियामा अलमल भइरहेको थियो ।

अहिले देउवाको रोजाइमा परेका पौडेल पनि विवादमा तानिइसकेका छन् । नेपाल राष्ट्र बैंक ऐनअनुसार राजनीतिक दलको सदस्य रहेको कुनै पनि व्यक्ति गभर्नर बन्न अयोग्य हुन्छ । पौडेल नेपाली कांग्रेसका नेता हुन् । गत २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पौडेललाई नेपाली कांग्रेसले चितवन १ बाट उम्मेदवार बनाएको थियो । पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालसँग हार व्यहोरेका थिए ।