काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जात, धर्म, संस्कृति, राजनीतिक आस्थालगायतबाट माथि उठ्न गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन् । आज (बुधबार) काठमाडौंमा एनआरएनएको विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले विदेशलाई राजनीति गर्ने ठाउँ बनाउन नहुने बताए । उनले एनआरएनएको नेतृत्वले संर्कीण भावना राख्न नहुने बताए । ‘संर्कीण भावना राख्ने हो भने घरमै बसे हुन्छ । संर्कीण भावनाले एकजुट हुनै सकिँदैन । यस संस्थाभित्र पनि केहीकेही यस संस्थाका उद्देश्यसँग नमिल्ने खालका प्रवृत्तिहरु केही वर्षदेखि नै देखा परेर आएको छ,’– उनले भने ।
उनले एनआरएनएलाई विवाद नगरी मिलेर अगाडि बढ्न आग्रह गरे । यो संस्था मर्यादित होस्, देश र समुदायको लागि काम गरोस् भन्ने आफ्नो कामना रहेको पनि उनले बताए । एनआरएनएको चुनाव नै नगराइ कामको आधारमा मूल्याङकन गरी अध्यक्ष, उपाध्यक्षलगायतको जिम्मेवारी दिइनुपर्ने उनले बताए ।
‘मिल्नुपर्ने ठाउँमा, मिलेर एकतावद्ध भएर जानुपर्र्ने ठाउँमा । वास्तवमा भन्ने हो भने यहाँ चुनाव नै गरिरहनुपर्ने होइन । आ–आफ्ना कामको मूल्याङ्कन गरेर को अध्यक्ष, उपाध्यक्ष सचिवको लागि कुरा गरेर अगाडि बढ्नुपर्छ । यस्ता संस्थाहरुमा व्यक्तिका लागि विधान फेरियो । श्रीमानका लागि विधान फेरियो, श्रीमतीको लागि विधान फेरियो । गल्ती त पहिलादेखि नै हुँदै आएको छ । यस्तो ढंगले, त्यो खालको संर्कीण कुराले संस्था चल्छ ?’ प्रश्न गर्दै उनले भने ।
उनले अधिवेशनबाट निर्वाचित नेतृत्वलाई स्वीकार गर्नुको विकल्प नरहेको बताए । हालै भएको एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठ नेतृत्वको टिमलाई अस्वीकार गर्दै उनले हारेकाहरुले आफ्नो स्वार्थका लागि अर्को समिति बनाउन नहुने बताए । यस्ता प्रकारको प्रयाससमेत असफल हुने उनको भनाइ छ ।
‘अधिवेशन गरियो । अनि हारेका १७ जनाले हामीले अर्कै संगठन बनायौं भन्न मिल्छ ? गर्नै नहुने कुरा हो यो । यस ढंगले विभाजन गर्ने प्रयास सफल हुन सक्दैन । हुन पनि हुँदैन । स्वार्थका लागि विभाजन गर्न मिल्दैन । यो कुनै राजनीतिक दलको संस्था होइन । हामीले ध्यान दिनुपर्छ,’– उनले भने ।
गत २०८० कात्तिकमा भएको एनआरएनएको निर्वाचनमा बद्री केसी अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धीहरु आरके शर्मा दोस्रो र महेश श्रेष्ठ तेस्रो भइ पराजीत भएका थिए । परराष्ट्रमन्त्री डा.आरजु राणा सहभागी एकता महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा एनआरएनएको नयाँ समिति चयन गरेको छ । एनआरएनएलाई लिएर परराष्ट्रमन्त्री र प्रधानमन्त्री विभाजित भएका छन् ।
प्रतिक्रिया