काठमाडौं, १ जेठ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले अदालतले आफूलाई साधारण सभामा सहभागी गराउनु भनेरे आदेश दिँदा पनि गलत नियत राखेर प्रवेश निषेध गरिएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एन्फाभित्र भएका भ्रष्टाचार साधारणसभामा भन्छु भनेर जान खोज्दा प्रवेश निषेध गरिएको बताए । ‘नेपालको इतिहासमा कहिल्यै प्रहरी बोलाएर साधारण सभा गर्नु परेको थिएन । सयौं प्रहरी राखिएको थियो । मैले भित्र छिर्न परिचयपत्र माग्दा मेरो छैन भन्यो । मेरो त अधिकार हो नि । अदालतको निर्णय पनि मान्ने ? देशको प्रधानमन्त्रीले त अदालतको निर्णय मान्छ, एन्फाले नमान्ने ?’ प्रश्न गर्दै उनले भने ।
एन्फाका पदाधिकारीहरुले गणेश थापा भित्र छिर्यो भने फेस गर्न गाह्रो हुन्छ भनेर प्रवेश नै गर्न नदिएको उनको दाबी छ । उनले एन्फामा भ्रष्टाचार भएको प्रमाण आफू पेश गर्न तयार रहेको बताए । ‘मलाई साह्रा खेल प्रेमीहरुले, अत्याचारमा परेका खेलाडीहरुले मलाई तपाईँले बोल्दिनुपर्यो भन्छन् । लड्दिनुपर्यो भनेर भनिरहेका छन् । मैले बोल्दिँदा धेरै डराउँछन् । उनीहरुले बदमासी गरेका छन् । मसँग धेरै प्रमाण छ । कार्यसमितिको बैठकले ४ करोड ३० लाखभन्दा घटीमा स्पोन्सर नगर्ने भनेर निर्णय गरेको छ । तर, उहाँहरुले २ करोड चानचुनमा अर्कालाई टेण्डर दिनुभयो । कार्यसमितिको निर्णयभन्दा बाहिर गएर गर्न पाइन्छ । अर्को केटिएम सिटी भन्ने जर्सीहरु बेच्ने कम्पनी हो । त्यो कम्पनीको भौचरमा के भनेर लेखिएको छ भने एन्फालाई हामीले २५ लाख दियौं भनेर लेखेको छ्याप्छ्याप्ति छ । त्यो पैसा एन्फामा गएको छैन । त्यहाँ नाम आएको छ महासचिवको,’– उनले भने ।
प्रतिक्रिया