काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अंकित यादवले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमण नितान्त धार्मिक भएको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता यादवले लामिछानेको भारत भ्रमणले दुई देशबीचको शदीयौँदेखिको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने दाबी गरे । “उहाँको भारत भ्रमण नितान्त धार्मिक हो,” यादवले भने, “यसले नेपाल र भारतबीच रहिआएको ‘रोटी-बेटी’ को सम्बन्धका साथै शदीयौँदेखिको धार्मिक र सांस्कृतिक एकतालाई अझ मजबुत बनाउनेछ ।”
आफू स्वयं ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएको स्मरण गर्दै उनले अब मुलुकमा बारम्बार आन्दोलन र अशान्ति भइरहने स्थितिको अन्त्य हुनुपर्नेमा जोड दिए । रास्वपा नेतृत्वको सरकारलाई नागरिकले दुई तिहाइको जनादेश दिएको उल्लेख गर्दै उनले विपक्षी दलहरूलाई पाँच वर्ष निर्वाध काम गर्न दिन आग्रह गरे ।
“म आफैँ जेनजी आन्दोलनको घाइते हुँ, तर अब देशमा निरन्तर आन्दोलन हुनुहुँदैन,” यादवले थपे, “अहिलेको सरकारलाई काम गर्ने स्पष्ट जनादेश छ । त्यसैले विपक्षीहरूले सडक आन्दोलन नगरी पाँच वर्ष काम गर्ने मौका दिनुपर्छ । अब देशलाई शान्ति र स्थायित्व चाहिएको छ ।”
सरकारले विभिन्न सार्वजनिक तथा प्रशासनिक निकायहरूमा योग्य, सक्षम र नेपाली नागरिकलाई नै नियुक्ति दिइरहेकाले त्यस्ता विषयमा अनावश्यक विवाद झिक्न जरुरी नरहेको उनको भनाइ थियो ।
यस्तै, प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच तिक्तता बढेको भन्ने चर्चाको खण्डन गर्दै यादवले दुई नेताबीच कुनै पनि प्रकारको मतभेद नरहेको दाबी गरे ।
बाहिर आएका हल्लाहरू निराधार र सत्यहीन रहेको जिकिर गर्दै उनले भने, “रवि र बालेनबीचको सम्बन्ध बिग्रिएको दिन म राजनीति नै त्यागिदिन्छु ।”
भोटेकोशी बाढीपीडितका लागि राज्यका सबै उपलब्ध स्रोत र साधन परिचालन गरी राहत तथा उद्धार कार्य भएको पनि उनले बताए ।
साथै, नेपाल-भारत सीमासम्बन्धी समस्याहरू प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमणका क्रममा कूटनीतिक माध्यमबाट समाधान हुने विश्वास उनले व्यक्त गरे ।




प्रतिक्रिया