काठमाडौं, ८ जेठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आफू सबैले सम्झिनेखालको गभर्नर बन्न चाहेको बताएका छन् । उनले भने,‘म सबैले सम्झिनेखालको गभर्नर बन्न चाहन्छु । गभर्नरको धेरै महत्वपूर्ण भूमिका छ । हामीले खल्तीमा राखेको पैसाको भ्यालुदेखि लिएर यसको सर्कुलेशनसम्म, सबैमा गभर्नरको महत्व छ । मान्छेहरुले मलाई सम्झिँदाखेरि एउटा असल गभर्नर हो भन्ने सम्झिउन् भन्ने म चाहन्छु । कुनै विवाद नभएको र कुनै दाग नभएको अनि कुनै बेइमानी काम नगरेको गभर्नरको रुपमा सम्झिउन्। यो पाँच वर्षमा सकेसम्म देशको आर्थिक स्थिति राम्रो होस । सिस्टम सवल होस । बैंकहरुको समस्याको कारण होल जनताले दुःख पाउने स्थिति नहोस । त्यो भयो भने म सफल हुनेछु ।’
गभर्नर नियुक्त भएर शपथ खाएकै दिन प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले गभर्नर बनाउनको लागि नेपालमा पैसा बुझाउनुपर्ने, ब्रिफ–केश बोक्नुपर्ने भनिन्छ, तपाईंले चाहीँ कति पैसा बुझाउनुभयो ? भनेर सोधेको प्रश्नमा गभर्नर पौडेलले भने,‘यसमा चाहीँ म रियल्ली अनह्याप्पी भएर उत्तर दिन्छु, मैले आफूले चिनेको मान्छेहरुपनि, उहाँहरुको मानसिक समस्या हो कि के हो ? मलाई थाहा छैन, किन यसरी बौलाहाजस्तो भएर कुरा गरेका छन्, मलाई थाहा छैन् ? कहाँ प्रमाण छ, दिनुपर्दैन ? जसले जे बोल्दापनि हुन्छ यो देशमा ? तपाईंको अगाडि क्यामेरा देखिएपछि जे पनि बोलिदिने ? पढेलेखेको भनेको छ यिनीहरु, प्रमाण देखाउनुपर्दैन ? कस्तो मान्छे हो यिनीहरु ? कहाँ छ प्रमाण ? कसले पैसा दिएको छ यहाँ ? कसलाई पैसा दिएको छ ?’
पैसा बुझाएर गभर्नर भयो भन्ने मान्छेहरु देखेर आफूलाई दया लागेको उनको भनाई छ । उनले भने,‘मलाई यस्तो मान्छेहरु देखेर दया लाग्छ, शंकाको खेती गरेर, यिनीहरुले राजनीति गरेर एक दुई राउण्ड जित्लान्, तर यिनीहरुले देशलाई कहीँ लग्दैनन् । राम्रो काम गर्ने मान्छेलाई दुःख दिने, अनि यस्तै गँजेडी सँजेडीहरुलाई जिताईदिने, त्यो वातावरण सिर्जना गर्न खोजिरहेका छन् । यिनीहरु एनार्कीमा रमाउने मान्छे हुन् । यिनीहरु राजनीति गरेर खाने मान्छे होईनन् । यिनीहरु मौका पाएन भनेर एकातिर, अर्कोतिर दौडिने मान्छेहरुको हुल हो ।’
प्रतिक्रिया