काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध अत्याचार लोकतन्त्रले नगरेको बरु केपी ओली र गगन थापाहरुको कुटिल षड्यन्त्र र रमेश लेखक र रमेश बडालहरुको कानूनी प्रपञ्च भएको आरोप लगाएका छन् ।
आफ्नो अपिलमा उनले भनेका छन्–‘अब मेरो जीवनको उद्देश्य व्यक्तिगत उन्मुक्ति होइन, सीमित नेताहरुको अहिलेको आपराधिक सिण्डिकेटबाट सिंगो देशको उन्मुक्ति हो । रवि लामिछानेले नाकको डाँडी भाँच्नुपर्छ भनेको थियो भनेर निकै ट्रोल बनाइयो, बनाईँदैछ । म आज यो कालकोठरीबाट दोहोर्याउँछु, राज्यको पूर्ण पुनःसंरचना गर्ने नै हो । ममाथि अत्याचार गर्ने लोकतन्त्र होइन, ओली–थापाहरुको षड्यन्त्र र लेखक–बडालहरुको कानूनी प्रपञ्च हो । विधिको शासन त यिनीहरुले उहिल्यै समाप्त पारिसकेका हुन् । हरेक संवैधानिक निकायमा यिनले धारिला हतियार लुकाएका छन् । यो सिण्डिकेटमा केही सीमित नेताबाहेक कोही सुरक्षित छैन । अब देशलाई मैले भन्नुपर्छ–म सिस्टमभित्रैबाट न्यायका लागि प्रयास त गरुँला, आश्वस्त छैन । यसो भनिरहँदा न्यायालयप्रतिको मेरो विश्वासलाई मैले दागबत्ती नै दिइसकेको छैन । ढिलोचाँडो ममाथिको अन्याय अदालतले देख्नेछ । जति चित्त दुखेपनि आश गर्ने अदालतभन्दा अर्को ठाउँ पो कहाँ छ र ? तर, अब म आफूमाथिको राजनीतिक षड्यन्त्रविरुद्ध जनताको अदालतमा पनि लड्न प्रतिबद्ध छु । आजबाट मैले मेरो मुद्दा दुनियाँकै सबभन्दा ठूलो अदालत, जनताको अदालतमा पनि दर्ता गराउने निधो गरेको छु ।’ उनले आफूमाथि राजनीतिक प्रतिशोध साँधेकै हो भन्ने लाग्नेहरुले हस्ताक्षर गरी सहयोग गरिदिन पनि अपिल गरेका छन् ।
कारागाबाट रवि लामिछानेले भने–मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन्
लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको बताएका छन् । कारागारबाट आज पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा एक सन्देश प्रवाह गर्ने क्रममा लामिछानेले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन् । २०४६ सालपछिका छत्तीस वर्षमा यिनीहरुले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन्, आज संसारले देखेको छ । यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन । राज्य यिनको, अड–अदालत यिनको मिडियासमेत यिनकै । राज्यका सारा अंग र संरचना यिनकै भर्तीकेन्द्र । घरिघरि लाग्छ, यिनीहरुले मलाई धेरै दुःख दिए । तर, विचार गर्दै जाँदा गएका छत्तीस वर्षमा यिनीहरुले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन । यिनीहरुले मलाई जेल हाले भनेर के दुखमनाउ गर्नु, जब यिनीहरुले सिंगो देशलाई नै जेल बनाईसके ।’
लामिछानेले आफूले कहिल्यैपनि कुनै दिन राजनीतिमा आउनेबारे नसोचेको स्मरण गराएका छन् । राजनीतिमा आउने निर्णय गरेपछि पनि धेरै स्थापित व्यक्तिलाई आफूले नेतृत्व गरिदिन आग्रह गरेको भन्दै सन्दुक रुइत, कुलमान घिसिङ, राजेश हमालदेखि अनिलकेसरी शाहसम्मको नाम लिएका छन् । तर, कसैले पनि विश्वास नगरेपछि मात्रै आँफै सभापति भएर पार्टी दर्ता गरेको लामिछानेले दाबी गरेका छन् ।

प्रतिक्रिया