प्रचण्डले नेपालको राजनीतिलाई लङ्गुरबुर्जाको खेलजस्तो बनाएको एमाले नेता ज्ञवालीको आरोप


काठमाडौं, ८ असार । नेकपा (एमाले) उपमहाचिव प्रदीप ज्ञवालीले नेपालको राजनीतिलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लङ्गुरबुर्जाको खेलजस्तो बनाएको आरोप लगाएका छन् । शनिबार एमाले सिन्धुलीको आठौ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को दोस्रो बैठकलाई सम्वोधन गर्दै ज्ञवालीले यस्तो आरोप लगाएका हुन् ।

उनले माओवादी प्रवृत्तिले नेपालको विकास र समृद्धि मात्रै नभएर कम्युनिस्ट आन्दोलन पनि अगाडि बढ्न नसक्ने दाबी गरे । एमालेले मात्रै राष्ट्रिय राजनीतिलाई देश हितको बाटोमा डोर्याएको बताउँदै उनले माओवादी देश हितभन्दा विदेशी हितका लागि काम गरिरहेको गम्भीर आरोप लगाए ।

उनले अहिले मुलुकको अर्थतन्त्र अहिले लयमा फर्किएको र सरकारले जनतामा बढ्दै गएको निराशालाई चिर्दै गएको विश्वास दिलाए । दुई छिमेकी देश चीन र भारतसँग आपसी सहकार्य गरेर विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गराउन जरूरी रहेकामा जोड दिँदै चीनसँग विआरआई सम्झौता गरिएको र भारतले पनि त्यस्तै परियोजना लिएर आए स्वीकारिने उनले बताए ।