प्रधानमन्त्री ओलीले नै निजामती विद्येयक रोकेको शेखर कोइरालाको आरोप


काठमाडौं, ८ असार । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशबमोजिम सभामुख देवराज घिमिरेले निजामती विद्येयकलाई रोकेको आरोप लगाएका छन् । उनले आफूहरु सत्तामा नरहेकै कारण उक्त विद्येयक संसद्मा कार्यसूचिमा आएर पनि फिर्ता भएको बताएका हुन् ।

नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज (आइतबार) आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘तपाईंहरुले अर्को विचार गर्नुहोस्, संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियड भनेर पास ग¥यो, तर, प्रधानमन्त्रीको आदेशमा सभामुखजीले त्यसलाई (निजामती विधेयक) लाई एजेन्डामा ल्याइ रहनु भएको छैन। हामी सत्तामा भएको भए हामी ल्याउँथ्यौँ।’

उनले सबै दलहरु कुलिङ पिरियड लागु गर्ने पक्षमा भएपनि प्रधानमन्त्री ओलीको व्यक्तिगत हठको कारण रोकिएको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्रीले कसको लागि विधेयक रोकिरहेको हो ? नेपाली कांग्रेस, एमालेका सांसदहरू, माओवादीहरू, मधेसका दलका सांसदहरू सबैले एकमतले कुलिङ पिरियड लागु गर्नुपर्छ भनेका छन्, प्रधानमन्त्रीजीको हठ किन? के को लागि? कसको लागि?’

प्रतिनिधिसभामा यसअघि नै निजामती विद्येयक पारित गर्नेगरि कार्यसूचिमा चढेको उक्त विद्येयक पछि कार्यसूचिबाट हटाईएको थियो । योबीचमा मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सचिवहरुले नेताहरुको घरदैलो गरेर विद्येयकमा राखिएको कुलिङ पिरियड हटाउन लविङ गरेका थिए । विद्येयक अघि नबढाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) पनि सरकारसँग संशकित छ ।