काठमाडौं, १४ असार । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपालमा मधेशवादी दलहरुको विरोध र आन्दोलनको कारण नाकाबन्दी भएको बताएका छन् । उनले भने,‘केपी ओलीको अघिल्लो चुनावबाट सुर गरौं, नाकाबन्दी भएको थियो, नाकाबन्दी त्यतिवेला हामीले यताउति बोल्यौं भने हामीले चुट्र्न आउँथे, नाकाबन्दी एक्चुअल्ली मधेशका नेताहरुबाट सुरु भएको हो । मधेशवादी नेताहरुले आफ्नो आन्दोलनको सिलसिलामा त्यो नाकाबन्दी गरेका हुन् । काठमाडौंलाई नै ब्लक गरेर भएपनि गर्छौं भनेर गरेका हुन् । यतिसम्म कि राजेन्द्र महतोको त झण्डै आँखासमेत गएको थियो । हाम्रो बोर्डर ओपन छ ।’२०४६ सालमा भने भारतले नाकाबन्दी गरेको सत्य भएपनि पछिल्लो समयमा लगाईएको नाकाबन्दी नेपालकै नेताहरुले गरेको दिक्षितको दाबी छ। तर, ओलीले फाईदा उठाएको उनको भनाई छ ।
प्राइम टिभीबाट हिजो (शुक्रबार) राति प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । नाकाबन्दीको राष्ट्रवाद देखाएर केपी ओलीले चुनाव जितेको उनको टिप्पणी छ । उनले भारतसँग सम्बन्ध बिग्रिनुमा केपी ओली नै दोषी भएको आरोप लगाए । अहिलेजस्तो भारतसँग सम्बन्ध कहिल्यैपनि नचिसिएको उनको भनाई छ । उनले नेकपाकालमा केपी ओली र पुष्पकमल दाहालले पूर्ण रुपमा चाईना कार्ड खेलेको पनि आरोप लगाए । ओली र प्रचण्डले जानीजानी भारतलाई चिढ्याएको उनको दाबी छ ।
उनले भने,‘ओली र प्रचण्डजी जब मिले, यिनीहरुले कम्पिट्ली चाईना कार्ड खेले, भारतलाई जानी जानी यिनीहरुले चिढ्याएका हुन् । त्यतिवेला कोही हामफाल्दै चार जना आउँथे प्रशिक्षण दिन भनेर, कहिले ३२ जनाको टोली पनि आएको हो, यहाँ त चाईनिज एम्बासडरको बोलावाला थियो । सबैतिर उनी नै जान्थे, पहिले पहिले भारतको एम्बासडरले जे पायो त्यही गरेको छ भनिन्थ्यो, यिनीहरुले चाईनिज एम्बासडरलाई त्यही गरे । यिनीहरुले चाईनालाई यति धेरै ह्वात्तै भित्र हुलिदिए, विचार पनि र उनको प्रभाव पनि भित्र हुलिदिए । यो चार/पाँच वर्षयता नेपालमा भारत सेलाएको छ ।’
प्रतिक्रिया