केपी ओलीको चाकरी गरेर पद चाहिएको छ भनेपछि केशब बडालले रिसले आगो, धमलालाई शब्द फिर्ता लिन आग्रह


काठमाडौं, १५ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशब बडालले पार्टीको सचिवालयमा बसेका नेताहरुमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलमात्रै आफूभन्दा सिनियर रहेको र बाँकी सबै जुनियर रहेको बताएका छन् ।

प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले माधवकुमार नेपाल र झलनाथ खनालहरुलाई समेत एमालेमा बिनाशर्त आउन आह्वान गरेका छन् । उनले एमालेमा गुटबन्दी सह्य नहुने चेतावनी दिए । उनले आफू पद मागेर हिँड्ने नेता नभएको स्पष्ट पारे ।

पत्रकार धमलाले ‘आज फेरि पनि केशब बडाललाई पद चाहिएको छ, केपी शर्मा ओलीको चाकरी गरेर पद चाहिएको छ’ भन्दा बडालले आफूले जीवनमा कहिल्यैपनि पदको लागिचाकरी नगरेको स्पष्टीकरण दिए । उनले भने,‘यो चाकरी गरेको भन्ने शब्द चाहीँ तपाईंले फिर्ता नलिई हुँदैन, मैले जीवनमा कुनै कुरो प्राप्तिको निम्ति कसैलाई चाकरी गरेको छैन । चाहे पद होस, या कुनै कुरो होस । म एकदम बेहाल अवस्थामा हुँदापनि कसैलाई केही माग्न गएको छैन । त्यसले गर्दा चाकरी गर्न गयो भन्ने शब्द फिर्ता लिईदिनुहोस । मैले केपी ओलीको विल्कुल चाकरी गरेको छैन । जीवनमा मैले कसैको चाकरी गरेको छैन ।’