नेपालका सांसदहरू गफाडी भएको रामनारायण बिडारीको आरोप, “कुलिङ पिरियड बदमासीमा कर्मचारीलाई दोष देखाएर उम्किन मिल्दैन”


काठमाडौं, १९ असार । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामनारायण बिडारीले नेपालका सांसदहरु गफाडी भएको टिप्पणी गरेका छन् । संघीय निजामती सेवासम्बन्धी विद्येयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ को सम्बन्धमा देखिएको विवादको सवालमा कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सचिवहरुले बदनियत राखेको र सांसदहरु निष्क्रिय भएको आरोप लगाए । उनले भने,‘सांसदहरु कस्ता भए भन्दा त गफाडी भए, बुझ्नु न सुझ्नु कराउने भए ।’ आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले कुलिङ पिरियडसम्बन्धी भएको गडबडीको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन समितिको लागि सिफारिश गर्ने कुरा नै युक्तिसंगत नभएको बताए ।

उनले यस प्रकरणमा उच्चस्तरीय समिति भन्ने नहुने भन्दै बरु न्यायिक समिति बनाउनुपर्ने सुझाव दिए । उनले भने,‘गर्नुपर्ने चाहीँ के थियो भने कर्मचारीहरुको बारेमा छानबिन गर्नको निम्ति एउटा छुट्टै आयोग बनाउनुपर्ने थियो ।’ समितिका सभापति रामहरि खतिवडाले विद्येयक तयार पार्दा सही (हस्ताक्षर) गर्दा नहेरेको विषयमा पनि पनि उनले आलोचना गरे ।

खतिवडाले नहेरी हस्ताक्षर गरेको विषयमा उनले मुर्खताको संज्ञा दिए । कुलिङ पिरियडमा भएको गडबडीमा कर्मचारीलाई मात्रै दोष दिएर सभापति खतिवडा उम्किन नमिल्ने उनको भनाई छ । उनले भने,‘कर्मचारीलाई दोष देखाएर हुँदैन, उनले (सभापति) ले सही किन गरेको त ?उनलाई तलब तथा भत्ता दिएर सभापति किन बनाएको हो त ?’