शीतल निवासमा देउवा र दाहालबीच लामो सम्वाद


काठमाडौं, २१ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच लामो सम्वाद भएको छ । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हिजो (शुक्रार) गिरिजाप्रसाद कोइरालाको १०२औं जन्मजयन्तीका अवसरमा आयोजित विशेष समारोहमा सरिक हुन देउवा र दाहाल पनि पुगेका थिए ।

सो क्रममा उनीहरुबीच छुट्टै आधा घण्टाभन्दा लामो सम्वाद भएको हो । पछिल्लो समय देउवा र दाहालबीच सम्वाद बढिरहेको छ । माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व लिन देउवालाई सार्वजनिक रुपमै भनिरहेका छन् । तर, देउवाले अहिलेसम्म त्यस्तो तयारी नगरेको चर्चा छ । ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी लामो विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलाले नियुक्ति सदर गरिदिएपछि देउवा र दाहालबीच हिजो भेटवार्ता भएको हो ।

देउवा पार्टीको केन्द्रीय कार्यसमितिको जारी बैठकको बीचबाट शीतल निवासको कार्यक्रममा सरिक हुन आएका थिए । देउवा र दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि संयुक्त भेट गरेका थिए । तर, दुई नेता देउवा र दाहाल छुट्टै सम्वादमा बसेपछि भने कतिपयले कांग्रेस–माओवादी सहकार्य हुन लागेको हो कि भन्ने अर्थमा पनि चर्चा गरेका थिए ।

प्रचण्डले आफ्नो सम्वोधनमा अहिले सरकार ठीक ढंगले नचलेको भनेका थिए । दाहालले वर्तमान सरकार, संसद र न्यायालयको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षले सोचे जस्तै अवस्था सहज नरहेको बताएका थिए । ‘सरकार कसरी चलेको छ, संसद र न्यायालयको अवस्था के छ — यो सबै गम्भीर समीक्षा आवश्यक छ,’ प्रचण्डको भनाई थियो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भने हिजोमात्रै ५ दिने लामो भ्रमण सकेर स्वदेश फर्किएका हुन् । तर, उनले भ्रमणबारे एयरपोर्टमा प्रेस मिट राखेर कुनै धारणा राखेनन् । भ्रमण दलमा सहभागी परराष्ट्र सचिव अमृत बहादुर राईले पत्रकार सम्मेलनमा भ्रमणको उपलब्धिबारे प्रकाश पारेका थिए । file photo