मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता, यी विषयमा भयो छलफल


२७ कात्तिक, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले शिष्टाचार भेटवार्ता गरेका छन्।मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा दुई देशबिचको द्विपक्षीय सहकार्यलाई थप गहिरो र सुदृढ बनाउने उपायहरूका विषयमा विस्तृत छलफल भएको छ।

 भेटवार्ताका क्रममा नेपाल र भारतबीच पूर्वाधार निर्माण, यातायात सञ्जाल विस्तार तथा द्विपक्षीय विकास आयोजनाहरूलाई गति दिने सम्भावनाबारे विचारविमर्श भएको जनाइएको छ।

 दुवै पक्षले दुई देशबिचको बहुआयामिक साझेदारीलाई थप उचाइमा पुर्‍याउन निरन्तर मिलेर काम गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।