धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । त्यसका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक बोलाएका छन् ।
सभामुख यादवका अनुसार बैठकको कार्यसूची तय गर्न शनिबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । समितिले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावसहित प्रदेशसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ ।
सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् । उनले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार नै प्रदेशसभा सचिवालयमा औपचारिक पत्र पठाइसकेका छन् ।
विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुटाउने प्रयासमा मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् । मतदान हुनुअघिसम्म सहमतिको प्रयास जारी रहने उनले बताएका छन् ।
कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिएर समर्थन फिर्ता लिएका थिए ।
दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । १०७ सदस्यीय मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
कांग्रेसका २२ सांसद मात्रै मुख्यमन्त्रीको पक्षमा रहेकाले बहुमत पुर्याउन उनलाई थप ३२ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।




प्रतिक्रिया