राष्ट्रिय सभा अध्यक्ष दाहाल इस्तानबुल प्रस्थान


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल इस्तानबुल प्रस्थान गरेका छन् । अन्तर–व्यवस्थापिका संघको १५२ औं महासभामा सहभागी हुन उनी आज(मंगलबार) इस्तानबुल प्रस्थान गरेका हुन् ।

टोलीमा राष्ट्रिय सभाका सदस्यहरू डा. अन्जान शाक्य र कृष्णबहादुर रोकाया छन् । संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्किस एअरलाइन्सको उडान मार्फत बिहान ७ बजे इस्तानबुल प्रस्थान गरेका हुन् ।

वैशाख २ गते देखि ०६ गतेसम्म टर्कीको इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष दाहालले मन्तव्य प्रस्तुत गर्नेछन् ।

साथै असंलग्न आन्दोलन संसदीय सञ्चालको पाँचौं सम्मेलनमा पनि अध्यक्ष दाहालले मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम छ ।

अन्तर–व्यवस्थापिका संघका स्थायी समितिका कार्यक्रमहरूमा प्रतिनिधिमण्डलमा सम्मिलित सांसदहरू सहभागी हुनेछन् । भ्रमण सकेर प्रतिनिधिमण्डल यही वैशाख ८ गते फर्किने कार्यक्रम रहेको छ ।