काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्ला जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आइरहेको छ । ‘मार्कस्लिपलाई छुट्टाएर इन्ट्री गरिरहेका छौँ । उत्तरपुस्तिका पनि आइरहेको छ,’ उनले भने ।
एसईई १९ देखि २९ चैतसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । परीक्षा सकिए लगत्तै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको हो । यसरी परीक्षण भएका उत्तरपुस्तिकासहित मार्कस्लिप बोर्डमा आइरहेको हो । हालसम्म ८–१० वटा जिल्लाबाट आइसकेको छ ।
यसवर्ष परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।
जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् । जापानको एक केन्द्रबाट परीक्षा दिने २३ जना छन् । एसईई सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको थियो ।




प्रतिक्रिया