रूपन्देही, १९ कात्तिक । लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई कुन दिशामा अगाडि बढाउने भन्ने बहस सुरु भएको छ।
सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा र सदस्यसचिवमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेसँगै कोषमा नयाँ जिम्मेवारी र अपेक्षा थपिएका छन्।
नयाँ नेतृत्वसामु वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना अघि बढाउने र पुरातात्विक सम्पदाको संरक्षण गर्ने चुनौती छन् तर लुम्बिनीको विकासलाई भौतिक पूर्वाधार निर्माणमा मात्रै सीमित नराखी बुद्धका उपदेश, दर्शन र शान्तिको सन्देशसँग जोड्नु अहिलेको आवश्यकता देखिएको छ।
सन् १९७८ मा जापानी वास्तुविद् केन्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयन सुरु भएको झण्डै ४८ वर्ष बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन। गुरुयोजनाअनुसार १७ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको विकास कार्य लामो समयदेखि अधुरै छ।
यसबीच लुम्बिनीमा विभिन्न भौतिक संरचना निर्माण भए पनि गुरुयोजनाको मूल मर्मअनुसार लुम्बिनीलाई अध्यात्मिक, शान्तिपूर्ण र आनन्ददायी गन्तव्यका रूपमा विकास गर्ने कामले अपेक्षित गति लिन सकेको छैन।
लुम्बिनीको विकास भन्ना साथ भवन, सडक, पार्क, सम्मेलन केन्द्र र अन्य भौतिक संरचना निर्माणलाई मात्रै प्राथमिकता दिने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको सरोकारवालाको धारणा छ। लुम्बिनीमा आउने पर्यटक केही समय घुम्ने, तस्बिर खिच्ने र दृश्यावलोकन गरेर फर्किने अवस्था अन्त्य गर्दै उनीहरूलाई केही दिन बस्न, बुद्ध दर्शन बुझ्न, ध्यान गर्न र आध्यात्मिक आनन्द अनुभूति गर्नसक्ने वातावरण बनाउनु पर्ने आवश्यकता औंल्याइएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्रध्यापन गर्ने सुरज घिमिरे लुम्बिनी संसारको ध्यान आकर्षित भएको महत्वपूर्ण आध्यात्मिक क्षेत्र भएकाले नयाँ नेतृत्वले यसको विशिष्टता बुझेर काम गर्नुपर्ने बताउँछन्। उनका अनुसार लुम्बिनीलाई भौतिक संरचनाको विकासमा मात्रै सीमित राख्नु हुँदैन। बुद्धले दिएका उपदेश, शान्ति, करुणा, मैत्री र मानव कल्याणका सन्देशलाई विकासको आधार बनाउनु पर्छ।
लुम्बिनी आध्यात्मिक रूपमा विश्वकै महत्वपूर्ण क्षेत्र भएकाले यसले संसारभरिका मानिसलाई शान्तिको सन्देशसहित आकर्षित गरिरहेको घिमिरेको भनाइ छ। लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको मात्रै तीर्थस्थल नभई संसारभरिका मानिसले शान्ति, ध्यान र आध्यात्मिक आनन्द प्राप्त गर्न सक्ने अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नुपर्ने उनी बताउँछन्।
समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक उमेशचन्द्र रिजाल लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा नेपालको महत्वपूर्ण पहिचान र ‘ब्रान्ड’का रूपमा विकास गर्नुपर्ने बताउँछन्। उनका अनुसार लुम्बिनीलाई संसारभरिका मानिसले शान्ति र आध्यात्मिक अनुभूति प्राप्त गर्न सक्ने साझा स्थलका रूपमा विकास गर्नुपर्छ।
लुम्बिनीको महत्त्व धार्मिक आस्थामा मात्रै सीमित नरहेको उल्लेख गर्दै रिजालले यसको विश्वव्यापी पहिचान, आध्यात्मिक महत्व र सांस्कृतिक सम्पदालाई एकीकृत रूपमा प्रवर्द्धन गर्नुपर्ने धारणा राखेका छन्। लुम्बिनीको विकासमा सरकार, विकास कोष, स्थानीय समुदाय, विश्वविद्यालय, धार्मिक संस्था र अन्तर्राष्ट्रिय समुदाय सबैको साझा दायित्व रहेको उनको भनाइ छ।
लुम्बिनीको अर्को महत्वपूर्ण पक्ष पुरातात्विक सम्पदाको संरक्षण हो। पुरातात्विक विषयका विद्यार्थी शशी पन्थी लुम्बिनी धार्मिक तथा आध्यात्मिक क्षेत्रका रूपमा मात्र नभई विश्वकै महत्वपूर्ण पुरातात्विक क्षेत्रका रूपमा पनि परिचित रहेको बताउँछन्। त्यसैले यहाँको विकास गर्दा पुरातात्विक महत्व, ऐतिहासिक प्रमाण र मौलिक संरचनाको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
लुम्बिनीको विकास गुरुयोजनाको अधुरो काम पूरा गर्ने विषयमा मात्रै सीमित हुनु हुँदैन। समय, प्रविधि, पर्यटनको स्वरूप र विश्वव्यापी आवश्यकतामा आएको परिवर्तनलाई ध्यानमा राखेर गुरुयोजनाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ। पुरानो गुरुयोजनाको मूल मर्म र ऐतिहासिक महत्वलाई सुरक्षित राख्दै अहिलेको समयानुकूल लुम्बिनीको समग्र विकासको नयाँ अवधारणा तयार गर्नुपर्ने सरोकारवालाको जोड छ।
लुम्बिनीको विकासलाई बुद्धकालीन सभ्यतासँग जोड्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ। बुद्धकालीन रोहिणी सभ्यता, रोहिणी नदी, शाक्य–कोलीय सम्बन्ध, देवदह, तिलौराकोट, कुदान, निग्लिहवा, सगरहवा, गोटिहवा र रामग्राम स्तूपलगायत क्षेत्रलाई एकीकृत बौद्ध सांस्कृतिक तथा पुरातात्विक पर्यटन सर्किटका रूपमा विकास गर्न सकिन्छ। विशेष गरी रोहिणी नदीसँग जोडिएको बुद्धकालीन सभ्यताको ऐतिहासिक महत्वलाई उजागर गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ।
बुद्धले आफ्नो जीवनकालमा दिएका शान्ति, सहअस्तित्व, करुणा र संवादका सन्देशलाई लुम्बिनीको पर्यटनसँग जोड्न सके यस क्षेत्रको महत्व अझ व्यापक बन्नसक्छ। ध्यान, विपश्यना, बौद्ध अध्ययन, सांस्कृतिक अन्तरक्रिया, शान्ति पदयात्रा र स्थानीय जीवन शैलीसँग पर्यटकलाई जोड्ने कार्यक्रमले लुम्बिनीमा पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुग्नसक्छ। यसबाट स्थानीय समुदायको आर्थिक तथा सामाजिक सहभागिता पनि बढाउन सकिन्छ।
लुम्बिनी विकास कोषको जिम्मेवारी भौतिक संरचना निर्माणमा मात्रै सीमित छैन। बुद्धजन्मस्थल लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट, कुदान, निग्लिहवा, सगरहवा, गोटिहवा, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राम स्तूपलगायत बौद्ध सम्पदाको संरक्षण तथा विकास कोषको दायित्वभित्र पर्दछ। यी क्षेत्रलाई एउटै बौद्ध सांस्कृतिक सभ्यताको ऐतिहासिक सम्बन्धमा जोडेर विकास गर्नसके लुम्बिनी आउने पर्यटकलाई लामो समयसम्म यस क्षेत्रमा राख्न सकिने सम्भावना छ।
गुरुयोजना कार्यान्वयनका क्रममा निर्माण भएका केही संरचनाको गुणस्तर र उपयोगितामाथि पनि प्रश्न उठ्दै आएका छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा ध्यान केन्द्र निर्माणमा ठूलो रकम खर्च भए पनि हस्तान्तरण हुनुअघि नै चुहावटको समस्या देखिएको विषय सार्वजनिक भएको थियो। त्यस्तै, सम्पदा क्षेत्रको जग्गा उपयोग र संरक्षणसम्बन्धी विवादले पनि कोषको कार्यशैलीमाथि प्रश्न उठाएको छ।
कोषको आर्थिक अवस्था पनि नयाँ नेतृत्वका लागि चुनौतीपूर्ण छ। सार्वजनिक विवरणअनुसार कोषले वार्षिक करिब १७ देखि १८ करोड आम्दानी गर्ने गरेको छ तर कर्मचारीको तलब भत्तामै १२ देखि १३ करोड खर्च हुने र अन्य प्रशासनिक तथा सञ्चालन खर्च समेत जोड्दा आम्दानीले नियमित खर्च धान्न कठिन हुने अवस्था सधैं देखिने गरेको लुम्बिनी विकास कोषले जनाएको छ। यस्तो अवस्थामा ठूला विकास आयोजना सञ्चालन गर्न दीर्घकालीन आर्थिक स्रोत सुनिश्चित गर्नु आवश्यक छ।
रुपन्देहीको तिलोत्तमा निवासी इन्जिनियर पाण्डेय संरचनागत इन्जिनियरिङ र सहरी पूर्वाधार विकासको अनुभवसहित कोषमा आएका छन्। उनले काठमाडौँ महानगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरिसकेका छन्।
लुम्बिनी विकास कोषको नेतृत्वका लागि प्राविधिक अनुभवसँगै यसको धार्मिक, सांस्कृतिक, आध्यात्मिक र अन्तर्राष्ट्रिय महत्वलाई समग्र रूपमा बुझेर काम गर्नु उत्तिकै आवश्यक रहेको विज्ञहरूको धारणा छ।
अब नयाँ नेतृत्वले लुम्बिनीलाई कंक्रिटका संरचनाले भरिएको पर्यटकीयस्थल बनाउने कि बुद्धका उपदेश र शान्तिको अनुभूति गर्न सकिने विश्वव्यापी आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने भन्ने विषय महत्वपूर्ण बनेको छ।
गुरुयोजनाका बाँकी काम पूरा गर्नु, पुरातात्विक सम्पदाको वैज्ञानिक संरक्षण गर्नु, रोहिणी सभ्यतासहित बुद्धकालीन क्षेत्रको प्रवद्र्धन गर्नु र स्थानीय समुदायलाई विकासको साझेदार बनाउनु नयाँ नेतृत्वका प्राथमिकता हुनुपर्ने देखिन्छ।
लुम्बिनी बुद्धको जन्मस्थल भएकाले यसको महत्व कुनै एउटा धर्म वा समुदायमा मात्रै सीमित छैन। यो मानवता, शान्ति, करुणा र सहअस्तित्वको विश्वव्यापी सन्देश दिने भूमि हो।
त्यसैले लुम्बिनीमा आउने प्रत्येक मानिसले यहाँबाट शान्ति, आनन्द र सकारात्मक ऊर्जा लिएर फर्किने वातावरण निर्माण गर्न सक्नुपर्छ। अधुरो गुरुयोजना पूरा गर्ने कामसँगै लुम्बिनीलाई विश्वकै शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने दीर्घकालीन सोच कार्यान्वयन गर्न सके मात्रै नयाँ नेतृत्वको जिम्मेवारी सार्थक बन्नेछ।




प्रतिक्रिया