मुस्ताङ, १९ कात्तिक । चिसोबाट जोगाउँन मुस्ताङको उच्चलेकबाट याकचौँरीका बथान बेँसी झारिएको छ । समूद्री सतहकोे चार हजारदेखि पाँच हजार मिटरसम्मको उचाइमा घुम्ती गोठ खडा गरी पालिएका याकचौँरी हिउँदयाममा हिमपात र चिसोको जोखिम हुने भएकाले सुरक्षित स्थानमा स्थान्तरण गरिएको हो ।
वर्षामा वैशाखदेखि असोज महिनासम्म उच्चलेकमा र हिउँदयाममा कात्तिकदेखि चैत महिनासम्म उच्चलेकका याकचौँरी बस्ती नजिक सारिने चलन छ । हिउँदयामको मौसममा पाटन र खर्कमा हिमपात र चिसोको जोखिम हुने भएकाले त्यहाँ व्यवस्थापन गरिएका याकचाँैरी बस्ती छेउ स्थानान्तरण गर्ने गरिएको याकचाँैरी कृषक महासङ्घ नेपालका केन्द्रीय महासचिव सोजन हिराचनले जानकारी दिए ।
हिउँदयामको जाडो मौसममा हिमपात र चिसोको जोखिम मात्रै नभई उच्चलेकका चरनक्षेत्रमा घाँसको अभाव हुने, आहारा व्यवस्थापनमा कठिनाइ हुने, खानेपानीको समस्या हुने, याकचौँरी रेखदेख र याकचौँरी हेर्न खटिएका गोठालाको दैनिकी कष्टकर हुने लगायतका कारण उच्चलेकका याकचौँरी हिउँदयामको पाँच महिना बस्ती नजिक सार्ने गरिएको हो ।
मुस्ताङको थासाङ गाउँपालिकामा २७ बढी घरधुरीले करिब एक हजार ५०० बढी याकचौँरीपालन व्यवसाय गरेका छन् । त्यहाँका पालकहरुले वर्षामा गर्मी मौसममा नीलगिरि हिमालको फेद नजिकैको मार्चे लेक, धौलागिरि आइसफल र बतासे लेक नजिकको उच्चलेक, पाटन र खर्कमा घुम्ती गोठ व्यवस्था गरी याकचौँरीपालन गर्दै आइरहेका छन् ।
यसरी पालन गरिएका याकचौँरी हिउँदयाम सुरु भइसकेकाले बस्ती नजिक झार्ने क्रम सुरु भइसकेको हो । थासाङ गाउँपालिका–१, टकुचेमा तीन घरधुरीले करिब २५० वटा याकचौँरी पालेका छन् । थासाङ—२ को सौरु, सिर्खुम, नाकुम, कोवाङ, लार्जुङ, नाउरिकोट, घट्टे खोला, छाक्ताङ र नाउरिकोट लगायतका गाउँमा करिब २० घरधुरीले हजार बढी याकचौँरी पालेका छन् ।
यसैगरी, थासाङ—४ को झिप्रा देउरालीमा दुई घरधुरीले ८० बढी याकचौँरीपालन व्यवसाय गरेका छन् भने थासाङ—५ ताक्लुङमा दुई घरधुरीले १३० बढी याकचौँरीपालन व्यवसाय अपनाएको याकचौँरी कृषक महासङ्घ नेपालका महासचिव हिराचनले जानकारी दिए ।
हिमाली जिल्ला मुस्ताङका पाँचै स्थानीय तहमा गरी ६७ वटाभन्दा बढी गोठमा करिब पाँच हजारभन्दा बढी याकचौँरी व्यवसायिक रुपमा पालन भइरहेको महासचिव हिराचनले उल्लेख गरे ।
उहाँका अनुसार थासाङबाहेक घरपझोङ गाउँपालिका—४ जोमसोममा तीन गोठ, घरपझोङ—३ स्याङमा दुई गोठ र घरपझोङ—२ मार्फामा दुई गोठमा गरी करिव ७०० बढी याकचौँरीपालन गरिएको छ ।
वारागुङ मुक्तिक्षेत्रमा ३०० बढी याकचाँैरी रहेका छन् भने लोमान्थाङ गाउँपालिकामा एक हजार ५०० बढी याकचौँरी पालन भइरहेको महासचिव हिराचनको भनाइ छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई घरधुरीले करिव ४०० बढी याकचौँरीपालन गरेको उनले बताए ।
हिमाली जिल्ला मुस्ताङमा सदियौँ वर्षदेखि परम्परागत रुपमा याकचौँरीपालन हँुदै आएको छ ।
यहाँका किसानले याकचौँरी पालन व्यवसायबाट चित्तबुझ्दो आम्दानी लिनसक्ने अवस्था रहे पनि याकचौँरीपालन व्यवसाय जोखिम र चुनौतीपूर्ण बन्दै गएको छ ।
अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङका उच्चलेक, पाटन र खर्कमा हिमचितुवा, चितुवा र ब्वाँसो लगायतका वन्यजन्तुको आक्रमणबाट याकचौरी क्षति हुने घटनाले यहाँका पशुपालन किसान चिन्तित छन् ।
जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकको चरनक्षेत्रमा घाँस पलाउन कम हुनु र अनधिकृत घाँस पलाउँदा याकचाँैरीको चरनक्षेत्र खुम्चिन थालेको कृषि तथा पशु विकास प्रमुख डा लालमणि अर्यालले जानकारी दिए ।
मुस्ताङमा बेमौसमी वर्षा, खानेपानी मुहान सुक्दै जानु र हिमपाहिरोको उच्चजोखिम हुने भएकाले परम्परागत याकचौँरीपालन व्यवसायी चुनौतिपूर्ण बन्दै गइरहेको प्रमुख डा अर्यालको भनाइ छ ।
पछिल्लो समय याकचौँरीपालन व्यवसाय चुनौतीपूर्ण बन्दै गइरहे पनि सरकारी अनुदान र प्रोत्साहनका कारण पशुपालक किसानको सङ्ख्या भने वृद्धि हुन थालेको छ ।
कृषि तथा पशु विकास शाखा र स्थानीय तहका पशु शाखाबाट याकचौँरी खरिदमा अनुदान, पूर्वाधार निर्माण आहारा व्यवस्थापन र प्राविधिक सहयोगका कारण याकचौँरीपालन किसान उत्साहित बनेका हुन् ।
पछिल्लो समय सरकारबाट याकचौँरीपालन गर्ने किसानलाई बीमामा आवद्ध गराई ८० प्रतिशतसम्म बीमा सहुलियत प्रदान गरिएपछि पशुपालकहरुलाई ठूलो राहत पुगेको घरपझोङका याकचौरी पालक पेम्मा गुरुङले जानकारी दिए । याकचाँैरीपालनबाट दूध, दही, घ्यु, छुर्पी लगायतका परिकार बनाएर किसानले मुनाफा कमाइरहेका छन् ।
पालन गरिएका याक वयस्क भएपछि मासुको प्रयोजनमा समेत बिक्री हुन्छ भने याकचौँरीको पुच्छर महँगो मूल्यमा बिक्री हुन्छ । मुस्ताङको थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिकामा बर्सेनि साउन र वैशाख महिनामा याकचौँरीको आलो रगत निकालेर बिक्री गर्ने गरिन्छ । किसानले याकचाँैरीको रगत बिक्री गरी दोहोर फाइदा लिने गरेका छन् ।
हिमाली जिल्लाको चिसो हावापानीमा हुर्काइएका याकको मासु स्वादिलो र स्वास्थ्यवद्र्धक मानिन्छ । उच्चलेकमा वन्य जडीबुटी सेवन गर्ने भएकाले याकको मासु खानाले स्वास्थ्यलाई फाइदा पुग्ने जनविश्वास छ । मुस्ताङमा वयस्क याकको मूल्य एक लाख ५० हजार पर्छ ।
प्रतिक्रिया