धेरै खिचपिच नगर्न सभापति थापाले गरे नेताहरुलाई आग्रह


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब धेरै खिचपिच नगर्न नेताहरुलाई आग्रह गरेका छन्।

आज पार्टीको एक महिने जरा अभियानको सुरुआत गर्दै आफू पार्टी जिम्मेवारीमा भएकाले लचिलो रूपमा प्रस्तुत भइरहेको पनि उनले बताए।

पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरूलाई सङ्केत गर्दै उनले भने, ‘जिम्मेवारीमा भएको व्यक्ति विनम्र, लचिलो हुनुपर्छ, उसैले संवाद गर्नुपर्छ, मैले यो कुरा पार्टीका नेताहरूबाट सिकेको छु। त्यसैले म सबैलाई समेटेर लिएर जान्छु, तर जिम्मेवारीमा रहेर मैले राख्ने लचकता र विनम्रतालाई कमजोरी नठान्नु।’

उनले पार्टीको तमाम नेताहरूलाई भर्खर नयाँ वर्षको सुरुवात भएकोले सबैलाई मिलाएर लिएर जाने कुरामा आफ्नो जोड रहेको बताए । ‘हो अब धेरै खिचपिच नगर्नु, मैले पार्टीको कामलाई अगाडि लिएर महाधिवेशनसम्म जानुपर्नेछ। देशभरिको कुरालाई सम्हाल्नु पर्नेछ नयाँ निर्वाचनको लागि पार्टीलाई तयार गर्नु पर्नेछ, प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्न सक्ने पार्टी बनाउनु पर्नेछ यसमा मलाई सबैको सहयोग चाहिएको छ कृपया सक्नेले मलाई सहयोग गर्नुहोला नसक्नेले डिस्टर्ब नगर्दिनु होला,’उनले भने ।

साथै उनले पार्टीको कार्यालय भन्दा बाहिर हुने अनधिकृत काम सीमाभन्दा बाहिर गए सहेर नबस्ने चेतावनी दिए।

थापाले आगामी वैशाख १५ गतेभित्रमा देशैभरका वडा तहमा क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न गरिसक्नुपर्ने बताए।